माओवादी केन्द्रले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर सरकारमा पठाउने मन्त्रीबारे टुंगो लगाउने भएको छ ।
सर्वोच्च अदालतको परमादेशअनुसार कांग्रेस सभापति देउवालाई राष्ट्रपतिले आज साँझ ५ बजेभित्र प्रधानमन्त्री नियुक्त गरेर शपथ खुवाउनुपर्ने हुन्छ । देउवाले आफूसँगै केही मन्त्रीको पनि शपथ खुवाउने तयारी गरेसँग मन्त्री छान्नका लागि माओवादी केन्द्रले पेरिसडाँडास्थित पार्टी कार्यालय स्थायी कमिटीको बैठक डाकेको थियो ।
बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति देउवाबीचको छलफलपछि मन्त्रीबारे टुंगो लगाउने निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले कांग्रेस सभापति देउवासँगको छलफलपछि सरकारमा पठाइने मन्त्रीको नामबारे टुंगो लगाइने जानकारी दिए।
‘कस्तो मन्त्रिमण्डल गठन गर्ने, मन्त्रिमण्डलको आकार कस्तो हुन्छ? यस विषयमा दुबै नेताबीच आज १ बजे छलफल हुँदैछ,’ श्रेष्ठले भने, ‘त्यसपछि मात्रै पार्टीको तर्फबाट सरकारमा पठाउने मन्त्रीबारे टुंगो लाग्छ।’
बैठकले सर्वोच्चको फैसलालाई ऐतिहासिक र महत्वपूर्ण ठहर गरेको माओवादी स्थायी कमिटी बैठकले स्वेच्छाचारिता तथा निरंकुशतन्त्रको अन्त्य गरेको निष्कर्ष निकाल्दै संविधान र लोकतन्त्रको रक्षाका साथै मुलुकमा स्थिरता कायम गर्न राष्ट्रिय सहमतिका साथ अगाडि बढ्ने निर्णय गरेको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।