सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गर्दै २ दिनभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र ७ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको हो । संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित न्यायाधीश दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई छन् ।
प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न माग गर्दै कांग्रेस, माओवादी केन्द्र, एमालेका वरिष्ठ नेता माधवकुमार नेपालनिकट सांसद र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवनिकट सांसदसहित राष्ट्रिय जनमोर्चाका १४६ सांसद हस्ताक्षरसहित परमादेशको माग गरेका थिए ।
उक्त मुद्दामा संवैधानिक इजलासमा असार ९ गतेदेखि २१ गतेसम्म रिटको निरन्तर सुनुवाइ भएको थियो । ३४ घण्टामा ८१ पक्ष-विपक्षका वकिलले बहस गरेका थिए । निरन्तर सुनुवाइ सकिएपछि न्यायाधीशबीच आवश्यक परामर्श र अन्तिम आदेश तयारीका लागि एक साताको समय राखेर हेर्दाहेर्दैमा पेसी तोकिएको थियो ।
गत जेठ ८ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको सोही दिनको निर्णय बदर गरेर असंवैधानिक र गैरकानूनी घोषणा गर्ने माग गर्दै ३० वटा रिट परेका थिए । त्यसअघि ओलीले गत ५ पुसमा प्रतिनिधिसभा विघटन गरेका थिए ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।