• स्याङ्जा : १४ वर्षीय किशोरसहित दुई जनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि

  • स्याङ्जाका दुई जनामा डेल्टा भेरियन्ट पुष्टि भएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका ६० र १४ वर्षीय दुई पुरुषको नयाँ भेरियन्टको आशङ्कामा प्रदेश जनस्वास्थ्य प्रयोगशालाले नमूना परीक्षणका लागि काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाएकामा डेल्टा भेरियन्ट पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

    निर्देशनालयले जारी गरेको विज्ञप्तिअनुसार उनीहरूमा नयाँ भेरियन्ट डेल्टा बि.१.६१७.२ भएको पुष्टि भएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरियन्ट जाँचका लागि जेठ ३१ गते काठमाडौं पठाइएकामा स्याङ्जाका दुईसहित गोरखाको बारपाक सुलीकोट गाउँपालिकाका ३३, ४० र ७० वर्षीया तीन महिला गरी पाँच जनामा नयाँ भेरियन्ट फेला परेको हो ।

    नयाँ भेरियन्ट पुष्टि भएका स्याङ्जाका दुवै जना सङ्क्रमित निको भएर घर फर्किसकेका कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खीमबहादुर थापाले बताए । संक्रमितहरूमा अहिले त्यस्तो कुनै पनि समस्या नरहेको अध्यक्ष थापाले बताए ।

    डेल्टा भेरियन्ट भाइरस यसअघिको अल्फा भेरियन्टभन्दा बढी सङ्क्रमित हुने भएकाले थप सचेतना अपनाउन प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत अनुरोध गरेको छ । जिल्लामा पनि नयाँ भेरियन्टका सङ्क्रमित फेला परेपछि यहाँका वासिन्दा त्रसित भएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय