अर्जेन्टिनी कप्तान लियोनल मेस्सी र ब्राजिली स्टार नेयमार संयुक्त रूपमा कोपा अमेरिका कपको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । दक्षिण अमेरिकी फुटबल फेडेरेसन (कन्मेवल) को प्राविधिक टोलीको अध्ययन र अनुसन्धानमा मेस्सी र नेयमारलाई संयुक्त रूपमा कोपाको सर्वाेत्कृष्ट खेलाडी घोषणा गरेका हुन् । कोपाको इतिहासमा पहिलोपटक दुई खेलाडीले सर्वाेत्कृष्ट खेलाडीको अवार्ड बाँडेको हो । यो निर्णय कन्मेवलको आधारित छ । आइतबार बिहान माराकाना स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनाले घरेलु टोली तथा साविकको विजेता ब्राजिललाई १–० ले हराउँदै २८ वर्षपछि कोपाको च्याम्पियन बनेको थियो ।
यस्तै मेस्सीले पनि अर्जेन्टिनाबाट पहिलो उपाधि जित्न सफल भएको थियो । कन्मेवलको छनोट समितिले दुईमध्ये एक खेलाडीलाई मात्रै छान्न असहज भएकाले दुवै खेलाडीलाई कोपाको सर्वाेत्कृष्ट खेलाडी घोषणा गरिएको विज्ञप्तिमा उल्लेख छ । ‘मेस्सी र नेयमार कसलाई सर्वाेत्कृष्ट बनाउने यो छान्न हामीलाई सहज थिएन । उनीहरू उत्कृष्ट खेलाडी हुन् ।
कोपामा दुवै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् ।’ कन्मेवलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘उनीहरूले प्रत्येक खेलमा प्राविधिक र रणनीतिक रूपमा उत्कृष्ट खेल पस्किएका छन् । उनीहरूकै उच्च प्रदर्शनमा दुवै टोली फाइनलमा पुग्न सफल भएका हुन् । सोही कारण उनीहरू दुवै कोपाको सर्वाेत्कृष्ट खेलाडी हुन् ।’ कन्मेवलको विज्ञप्तिमा उल्लेख छ । जबकि मेस्सीले कोपाको ७ खेलमा ४ गोल र ५ असिस्ट दिएका छन् । यता नेयमारले ६ खेलमा २ गोल गर्नुका साथै ३ असिस्ट दिएका थिए । मेस्सी र कोलम्बियाका लुइस डियाज कोपाको सर्वाधिक गोलकर्ता बने । उनीहरूले समान ४ गोल गरेका थिए । असिस्टमा मेस्सी उत्कृष्ट रहे ।
यस्तै अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेज कोपाको उत्कृष्ट गोलरक्षक बनेका छन् । अर्जेन्टिनाको फाइनल यात्राका लागि सेमिफाइनलमा मार्टिनेजले पेनाल्टी सुटआउटमा कोलम्बियाको ३ पेनाल्टी बचाएको थियो । फाइनलमा पनि मार्टिनेजले केही सुन्दर बचाउ गरेका थिए । दोस्रो भएको ब्राजिलले फेयर प्लेको अवार्ड जितेको छ । ११ जुनबाट सुरु भएको कोपामा १० टोलीले सहभागिता जनाएका थिए । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । दुवै समूहबाट शीर्ष चार टोलीले क्वाटरफाइनलमा स्थान बनाएका थिए ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।