बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जारी आन्दोलनको समर्थनमा बृहत् नागरिक आन्दोलनले गरेको प्रदर्शनका प्रहरीले हस्तक्षेप गरेको छ । बीपी प्रतिष्ठानको बेथितिविरुद्ध जारी आन्दोलनलाई समर्थन गर्दै वार्ताका लागि दबाब दिन सिंहदरबार घेराउ गर्न पुगेका नागरिक समाजका अगुवालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी अभियन्ताहरू नारायण वाग्ले, खगेन्द्र संग्रौला, सञ्जीव उप्रेतीसहित १५ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई प्रहरीले पुलिस क्लबमा पुर्याएको हो ।
‘स्वास्थ्य शिक्षामा भइरहेका चरम बेथितिविरुद्ध तथा धरानकाे बीपी प्रतिष्ठानकाे बचाउका निम्ति आन्दाेलित नागरिक अभियन्ताहरूलाई आज पूर्वनिर्धारित योजनाअनुरूप सिंहदरबार अघि धर्ना बस्ननुपूर्व नै प्रहरीले पक्राउ गरेकाे छ । उहाँहरूलाई महेन्द्र पुलिस क्लबमा राखेकाे खबर छ’ नागरिक आन्दलोनले भनेको छ ।
प्रतिष्ठानका चारै पदाधिकारीलाई पदमुक्त गरी नयाँ पदाधिकारी चयन गर्नुपर्ने माग गर्दै सिंहदरबारको दक्षिणीगेटमा नागरिक आन्दोलनले प्रदर्शन गरेको हो ।
प्रतिष्ठानमा दलीय भागबण्डा नभई वस्तुगत मापदण्डका आधारमा पदाधिकारी नियुक्त गरिनुपर्ने उनीहरुको माग छ। पदाधिकारीले गरेको भ्रष्टाचारबारे बारम्बार समाचार आउँदा पनि कुनै छानबिन नगरी सम्बन्धित निकाय बेबखबर रहेको उनीहरूको आरोप छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।