ब्राजिललाई हराउँदै अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । अर्जेन्टिनाले ब्राजिललाई १-० गोल अन्तरले हराउँदै उपाधि चुमेको हो ।
अर्जेन्टिनाले २८ वर्षमा पहिलो पटक प्रमुख अन्तर्राष्ट्रिय उपाधि हात पारेको हो । पछिल्लो पटक यो उपाधि अर्जेन्टिनाले १९९३ मा जितेको थियो । यसका साथै लियोनल मेस्सीले आफ्नो फुटबल जीवनको पहिलो प्रमुख प्रतियोगिताको उपाधि जित्ने लक्ष्य पूरा गरेका छन् ।
मेस्सीले दशौँ प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक अर्जेन्टिनालाई जित दिलाउन सफल भए । उनको यो पहिलो अन्तर्राष्ट्रिय ट्रफी पनि हो । १९९३ पछि अर्जेन्टिनाको टिम ४ पटक कोप अमेरिकाको फाइनल र १ पटक वर्ल्डकपको फाइनलमा पुगेकव थियो ।
रोड्रिगो डे पौलको पासलाई एञ्जेल डी मारियाले गोलको दिशा दिँदा अर्जेन्टिनाले २२औँ मिनेटमा १–० को अग्रता लियो । मारियाको उक्त गोल नै अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाउन पर्याप्त भयो । मेस्सीले अन्तिम समयमा गोल गर्ने अवसर पाए पनि सफल हुन सकेनन् ।
ब्राजिलले भने पहिलो पटक घरेलु मैदानमा कोपा अमेरिकाको उपाधि हात पार्नबाट चुक्यो । ब्राजिलले ९ पटक कोपा अमेरिका जितेको थियो । ब्राजिलले २०१९ पनि कोपा अमेरिकाको ट्रफी उचालेको थियो । यसपटक रिचार्लिसन र गेब्रेल बारबोसाको प्रयास एमी मार्टिनेजले विफल तुल्याएपछि ब्राजिलले गोल गर्ने चुक्यो ।
७ खेलमा ४ गोल र ५ असिस्ट गरेका मेस्सी ‘प्लेयर अफ द् टुर्नामेन्ट’ घोषित भए । सन् २०१३ देखि २०१७ सम्म बार्सिलोनामा मेस्सीसँग क्लब फुटबल खेल्दै आएका नेयमारले ट्रफी उचाल्ने समारोह अघि मेस्सीलाई अँगालो हाल्न पुगेका थिए ।
सन् २००६ मा पहिलो पटक विश्वकप फुटबलमा सहभागी भएका मेस्सी सम्मिलित अर्जेन्टिना टोली सन् २०१८ सम्म आइपुग्दा दुई पटक क्वार्टरफाइन, एक पटक उपविजेता र एक पटक अन्तिम १६ सम्मको यात्रा गरेको छ ।
दश पटक स्पेनिस ला लिगा, चार पटक च्याम्पियन्स लिग र छ पटक फिफाको बलून डे अरको उपाधि जिएका मेस्सीले प्रमुख अन्तर्राष्ट्रिय स्पर्धा जित्न नसक्दा उनको प्रभावलाई लिएर आलोचना हुँदै आएको थियो ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।