• कम्बोडिया मानव बेचबिखन गिरोहको नयाँ गन्तव्य

  • मानव बेचबिखनमा संलग्न गिरोहले दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियालाई नयाँ गन्तव्यका रूपमा प्रयोग गरेको पाइएको छ । कम्बोडियाबाट भागेर नेपाल फर्किन सफल पीडित युवतीको उजुरीपछि रहस्य खुलेको हो ।

    नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले ती युवतीलाई भारत, म्यानमार, थाइल्यान्ड हुँदै कम्बोडिया पु-याएको अभियोगमा धनकुटा शहीदभूमि गाउँपालिका–२ का ३७ वर्षीय किसान राईलाई धनकुटाबाट पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकबाट चिनजान गरी अभियुक्त राईले कम्बोडियाको कन्स्ट्रक्सन कम्पनीमा काम लगाइदिने प्रलोभन देखाई ती युवतीलाई चिनियाँ नागरिक बस्ने एक घरमा पुर्‍याएको जानकारी ब्युरो प्रहरी प्रवक्ता अनुराग द्विवेदीले जानकारी दिए ।

    कन्स्ट्रक्सन कम्पनीबाट खाना–बस्न दिने र मासिक एक लाख रुपियाँ आम्दानी हुने भन्दै अभियुक्त राईले पीडितसँग प्रवेशाज्ञा खर्चबापत चार लाख ५० हजार रुपियाँ रकम लिएको खुलेको छ । झुक्याएरै यौनदासीका रूपमा काम गर्ने गरी आफूलाई कम्बोडिया पुर्‍याएको आरोप पीडित युवतीको छ । यसअघि पनि अभियुक्त राईसहितको समूहले अन्य ४५ जना नेपाली महिलालाई विभिन्न बाटो हुँदै अवैध रूपमा कम्बोडिया लगेर अलपत्र पारेको प्रहरीको अनुसन्धानबाट खुलेको गोरखापत्रले लेखेको छ ।

    सो घटनाका सम्बन्धमा वैदेशिक रोजगार विभागबाट समेत अनुसन्धान भइरहेको छ । ब्युरोका अनुसार मानव बेचबिखनमा संलग्न गिरोहका लागि कम्बोडिया नयाँ गन्तव्य हो । नेपाल, भारत, म्यानमार, थाइल्यान्ड हुँदै कम्बोडियासम्म स्थलमार्ग प्रयोग हुने गरेको पाइएको छ । कम्बोडिया यौन तथा देहव्यापारका लागि खुला देश हो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय