काठमाडौं । नेपालको स्वास्थ्य क्षेत्रमा देखिएको बेथिति र दुरावस्थाविरुद्ध आज नागरिक अगुवाहरुले सिंहदरबार धर्ना दिंदैछन । करिब एक महिनादेखि धरानको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चलिरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउन भन्दै बृहत नागरिक आन्दोलनको अगुवाईमा आज सिंहदरबारमा धर्ना दिन लागिएको हो ।
शनिबार बृहत नागरिक आन्दोलनका तर्फबाट जारी गरिएको विज्ञप्तिमा आइतबार ११ बजे धर्ना कार्यक्रममा उपस्थित हुन सबैलाई आह्वान गरिएको छ । विज्ञप्तिमा सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलन चौथो सातामा पुगिसक्दा पनि सरकारी पक्षबाट वार्ताको पहल नभएकाले देशव्यापी रुपमा दबाब दिन सिंहदरबार घेराउ गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छः ‘प्रतिष्ठानका विद्यार्थी, कर्मचारी, स्वास्थ्यकर्मी र चिकित्सकको आन्दोलनमा चौतर्फी रुपमा नागरिक आवाज र व्यवस्थित प्रतिरोध भएन भने अपेक्षित नतिजा आउँदैन । त्यसैले नागरिकहरू, जो जहाँ छौं, त्यहीँबाट सार्वजनिक संस्थाको बर्बादीविरुद्ध संघर्षमा लाग्न बृहत् नागरिक आन्दोलन अपिल गर्दछ ।’
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।