• कोरोना महामारीः मृत्युपछि चितामा जल्न पनि पालो पर्खिनुपर्दा…

  • ३१ वर्षका सुमित कुमार ८ वर्षदेखि लखनउमा प्रेस फोटोग्राफरका रुपमा काम गरिरहेका छन् । उनले आफ्नो करियरमा अहिलेजस्तो दर्दनाक दृश्य कहिल्यै पनि देखेका थिएनन् । पछिल्लो ५–६ दिनदेखि उनी लगातार लखनउका शवगृह र श्यमशानघाट गइरहेका छन् । सुमित कुमार लखनउमा आफन्तहरुसँग बस्छन् । तर उनले घरमा एक अलग कोठामा आफूलाई क्यामेरामा जसरी नै कैद गरेर राखेका छन् ।

    घरपरिवारका सदस्यसँग भेटघाट हुँदैन। सुमित घरबाट निस्कदा कार्यालय जान लागेको भनेर ढाँटेर निस्किन्छन्। सहरको सत्यता हेर्नका लागि उनले हरेक दिन झुठको सहारा लिनुपर्छ। घरका सदस्यहरुलाई लखनउमा जहाँ हरेक दिन दर्जनौं मानिस कोरोनाबाट मरिरहेका छन्, त्यही श्यमशानघाट र अस्पतालमा आफू दैनिक चक्कर लगाइरहेको कुरा उनी कसैलाई पनि भन्दैनन् ।
    भैंसा कुण्डमा काम गर्ने लखनउका मुन्ना अगरले लगातार १० दिन घरै नगई सयौं शबहरुको दाह संस्कार गरिसके । उनले अब शबको गणना समेत गर्न भुलिसकेका छन्। उनलाई कति चिता बिछ्याइएको थियो भन्ने जानकारी छैन ।

    शब आउँछ र त्यसलाई चितामा राखेर जलाउँछन्। दिनदिनै भेट हुने सुमित र मुन्ना अब साथी भइसकेका छन् । भैंसा कुण्डमा शबको अन्तिम संस्कारमा खटिएका मुन्ना भन्छन्, ‘मलाई हप्तामा कति मान्छेको अन्त्येष्टि गर्ने भन्ने नै थाहा छैन ।’ सुमित कुमारको एक तस्बिर भाइरल भएको छ । यो तस्बिर उनले १४ अप्रिलमा ७० वर्षीय सुशील कुमार श्रीवास्तवलाई लालकटेरा इलाकामा एक अक्सिजन गोदामको बाहिर अक्सिजन गोदाममा आफ्नो गाडीमा बसेर गहिरो श्वास लिइरहेका बेला खिचेका थिए ।

    सुशील कुमारका छोराले उनलाई गाडीमा राखेर अस्पताल भर्ना गर्न लिएर जाँदै गर्दा बाटोमा अक्सिजनका थोक व्यापारीकोमा रोकाएर अक्सिजन चढाएका थिए। उनले त्यसको दुई दिनमा मात्रै अस्पतालमा बेड पाए। तर रक्तचाप र मधुमेहका बिरामी सुशील कुमारको अस्पतालमा भर्ना भएपनि १६ अप्रिलमा मृत्यु भयो ।

    सुमित उनको निधनमा दुःखी छन्। उनले आफूले कुनै सहयोग गर्न नसकेकोमा ग्लानी महसुस गरिरहेका छन् । उनी भन्छन्, ‘हामीले कसैलाई सहयोग गर्न पाइरहेका छैनौं । हामी उभिएर तमासा हेर्ने दर्शक बनेका छौं ।
    यो कुरा घरमा पनि सुनाउन सक्ने अवस्था छैन । किनकि घरमा पनि ढाँटेर मात्रै निस्किने हो । मसँग यस्ता कुरा मनभित्रै राख्नुको विकल्प छैन।’ सुमित कुमार यस्ता तस्बिर खिच्दाखिच्दै भावनात्मक रुपमा धेरै टुटेका छन् । उनी भन्छन्, ‘यहाँ हामी लाचार छौं ।

    केही गर्न सक्दैनौं। यसका बाबजुद पनि महामारीबारे खबर दिनुपर्नेछ। वास्तविकता के छ भनेर जनतालाई बताउन जरुरी छ ।’ आफूले खिचेको तस्बिर देखाउँदै उनी भन्छन्, ‘आम मानिसकले जीवनमा हरेक पटक धक्का खानुपर्छ। उपचारको पालो पर्खिदापर्खिदै आफ्नो जीवन गुमाउनुपर्छ । तर मैले पहिलो पटक श्यमशान घाटमा पनि ‘वेटिङ लिस्ट’ देखेँ । मृत्युपछि पनि मान्छेले शब जल्ने पालो पर्खिनुपरेको छ।’

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस