• सहमति खोज्दै एमाले कार्यदल : आज पनि बैठक बस्दै

  • काठमाडौं । नेकपा (एमाले)को आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज पनि बस्दै छ । सहमतिका आधार तय गर्न आज पुनः बस्न लागेको हो ।

    बैठक भने मंगलबार निर्धारण गरिएको समयभन्दा केही सरेको छ । बुधबार बिहान ८ बजेका लागि तयको बैठक बिहान १० बजेलाई सरेको अध्यक्ष केपी शर्मा ओली पक्षीय कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले बताए ।

    पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल सम्मिलित १० सदस्य कार्यदलको बैठक सोमबारबाट सिंहदरबारस्थित अर्थमन्त्रालयमा बस्दै आएको छ । नेताहरूका अनुसार सोमबार र मंगलबारको छलफल सकारात्मक भए पनि ठोस सहमति भने हुन सकेको छैन । कार्यदलका सदस्य एमालेका सचिव गोकर्णराज विष्टले छलफल सकारात्मक रूपमा अघि बढेको जानकारी दिए ।

    पार्टीका शीर्ष र दोस्रो तहका नेताबीच भएको अनौपचारिक छलफललाई व्यवस्थितरूपमा सहमतिमा परिणत गर्न कार्यदलको बैठक शुरु भएको हो । पार्टी अध्यक्ष ओली महाधिवेशन आयोजक कमिटी विघटन गराई २०७५ जेठ ३ गते अगाडिको साङ्गठनिक स्थितिका आधारमा सञ्चालन गर्न तयार भएपछि सहमतिको वातावरण बनेको हो ।

    एमाले केन्द्रीय कमिटीको १३ औँ बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव र सर्वाेच्च अदालतमा रिट दायर गर्दा पार्टीका २३ निवर्तमान सांसदबाट गरिएको हस्ताक्षर फिर्ता गर्न आज साँझ ५ बजेसम्म समय दिइएका सन्दर्भमा कार्यदल सक्रिय भएको हो । नयाँ प्रधानमन्त्री चयन प्रक्रिया सफल हुन नसकी गत जेठ ८ गते प्रतिनिधिसभा दोस्रो पटक विघटन भएपछि एमालेको कार्यदल निष्क्रिय भएको थियो ।

    कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली पक्षबाट नेता नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् । नेपाल पक्षबाट भीम रावलको नेतृत्वमा, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, विष्ट र रघुजी पन्त सहभागी छन् । अध्यक्ष ओली र नेता नेपालबीचको सहमतिबाट १० सदस्यीय कार्यदल गठन भएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय