काठमाडौँ । मालिका गाउँपालिका–६ रातोढुङ्गामा बाढीले घर बगाउँदा बुधबार बिहान एक जनाको मृत्यु भएको छ । बाढीबाट एक जना बेपत्ता भएका छन् ।
मङ्गला गाउँपालिका–५ को खहरेखोलामा आएको बाढीले म्याग्दी खोलाको धार परिवर्तन गराएर कटान गर्दा खगेन्द्र रोकाको घर बगाएको हो । घरभित्र सुतिरहेका मालिका–६ का खगेन्द्रका छोरा बजिन र बुहारी बिनालाई बाढीले बगाएको मालिका–६ का वडाध्यक्ष सन्तोष सुवेदीले जानकारी दिए ।
बजिनको शव भेटिएको र बिना बेपत्ता भएको वडाध्यक्ष सुवेदीले बताए । इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएका प्रहरी, जनप्रतिनिधि र स्थानीयबासीहरु बेपत्ताको खोजीका साथै जोखिममा रहेका घरको व्यवस्थापनमा परिचालन भएका छन् ।
खहरेखोलाको बाढी पसेर मङ्गला गाउँपालिकातर्फ पनि एउटा घरमा क्षति पुगेको छ । रातोढुङ्गाको बस्ती, निर्माणाधीन ३२/११ केभी क्षमताको सबस्टेशन र सयौँ रोपनी खेतीयोग्य जमीन जोखिममा परेको छ ।
इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलले घटनास्थल पुगेर क्षतिको विवरण सङ्कलन, बेपत्ताको खोजी र जोखिममा परेका घरधुरी व्यवस्थापनमा जुटेको बताए ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।