चितवन । पूर्वी चितवनको राजमार्ग क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ ।
राप्ती नगरपालिका–३ कि सुजिता भण्डारीको मृत्युको घटनालाई लिएर सडक प्रदर्शन बढ्न थालेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो।
पूर्व–पश्चिम राजमार्गको राप्ती नगरपालिका–१ लोथरपुलदेखि राप्ती नगरपालिका–४ डढुवासम्मको राजमार्गको दाँयाबाँया ५०० मिटर क्षेत्रमा चितवनमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले कर्फ्यू आदेश जारी गरेका हुन्।
मंगलबार बेलुका ७ बजेदेखि बुधबार बेलुका साढे ७ बजेसम्म कर्फ्यू कायम रहनेछ। कर्फ्यूका समयमा सडकमा लामो दूरीका सवारी साधन चल्न पाउने छन् भने मानिसहरु आवतजावत र भेला हुन रोक लगाइएको छ ।
भण्डारीको मृत्युको घटना अनुसन्धानको माग गर्दै स्थानीयबासीले प्रदर्शन गर्दै राजमार्ग अवरुद्ध गरेपछि प्रहरीले खुलाउन खोज्दा झडप भएको थियो ।
झडपमा परी नेपाल प्रहरीका २ जना र सशस्त्र प्रहरीका २ जना घाइते भएका छन्। प्रदर्शनकारीले गृहमन्त्रीको राजीनामासमेत माग गरेका छन् ।
गत असार ११ गते घरबाट साथीको घरमा हिँडेकी सुजिताको आइतबार दिउँसो ११ दिनपछि सामुदायिक वनमा शव फेला परेको थियो ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।