• एमाले कार्यदलको बैठक आज पनि, आउला त संयुक्त वक्तव्य ?

  • आन्तरिक विवाद समाधानका लागि गठित नेकपा (एमाले)को कार्यदल पुनः सक्रिय भएको छ । पार्टीका शीर्ष र दोस्रो तहका नेताबीच भएको अनौपचारिक छलफललाई व्यवस्थितरूपमा सहमतिमा रूपान्तरणका लागि कार्यदलको बैठक सुरु भएको हो ।

    पार्टी अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ ३ गते अगाडिको साङ्गठनिक स्थितिका आधारमा सञ्चालन गर्न तयार भएपछि सहमतिको वातावरण बनेको हो ।

    सिंहदरबारमा सोमबार बसेको बैठकले हालसम्मका अनौपचारिक छलफल पुनरावलोकन गरेको र पार्टीभित्रै बसेर आन्तरिक समस्या समाधान गर्ने कुरा भएको एमालेका सचिव गोकर्णराज विष्टले जानकारी दिए । कार्यदलको अर्काे बैठक आज दिउँसो पुनः बस्दै छ ।

    आज दिउँसो बस्ने कार्यदल बैठकले पार्टी एकताका लागि महत्वपूर्ण सन्देश दिने वार्ता टोलीमा अध्यक्ष केपी ओली पक्षका संयोजक सुवास नेम्वाङले बताए । बैठकले आज सहमतिको मस्यौदा टुंगो लगाउने उनको भनाइ छ ।

    पार्टी एकताको सन्देश दिने संयुक्त वक्तव्यको मस्यौदामा समेत छलफल भएको छ । यसअघि आइतवार नेपाल निवास पुगेका नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेलले एमाले एक छ भन्ने सन्देश दिन दुवै नेता भेटेर कुरा गर्न र संयुक्त वक्तव्य दिन आग्रह गरेका थिए ।

    एमाले केन्द्रीय कमिटीको १३ औँ बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा पार्टीका २३ निवर्तमान सांसदबाट गरिएको हस्ताक्षर फिर्ता गर्न सोमबार साँझ ५ बजेसम्म समय दिइएका सन्दर्भमा कार्यदल सक्रिय भएको हो ।

    नयाँ प्रधानमन्त्री चयन प्रक्रिया सफल हुन नसकेपछि गत जेठ ८ गते प्रतिनिधिसभा दोस्रो पटक विघटन भएपछि एमालेको कार्यदल निष्क्रिय भएको थियो ।

    कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली पक्षबाट नेता सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल, विष्णुप्रसाद रिमाल तथा नेता माधवकुमार नेपाल पक्षबाट डा भीमबहादुर रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, विष्ट र रघुजी पन्त छन् ।

    नेकपा (माओवादी केन्द्र)सँगको २०७५ जेठ ३ गतेको एकतापूर्वको अवस्था उत्पन्न भएपछि एमालेका अध्यक्ष ओलीले गत फागुन २८ गते केन्द्रीय कमिटीको विशेष बैठकबाट भएका निर्णयमा वरिष्ठ नेता झलनाथ खनाल र नेपाल पक्षले असन्तुष्टि जनाउँदै समानान्तर गतिविधि गर्दै आएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय