• साउनमा पनि पशुपति मन्दिर बन्द

  • काठमाडौं । यस वर्षको साउन महिनामा पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।

    नयाँ भेरियन्टसहितको कोरोना महामारी तीव्र रुपमा बढ्न थालेपछि वैशाख पहिलो सातादेखि कोषले पशुपतिनाथ मन्दिरमा दर्शन गर्न रोक लगाएको थियो ।

    वैशाख १६ गतेदेखि सरकारले कोरोनाबाट बच्न निषेधाज्ञा नै जारी गरेको थियो । असार दोस्रो सातादेखि अन्य क्षेत्र विस्तारै खुल्न थाले पनि बढी भीड हुने भन्दै धार्मिक क्षेत्र खोलिएको छैन । मन्दिर क्षेत्रमा मुख्य ढोकामा ताला लगाइएको छ ।

    कोषका सदस्य सचिव डा प्रदीप ढकालले धेरै भीड बढ्ने भएकाले साउनमा पशुपतिनाथ मन्दिर खोल्न सकिने अवस्था नदेखिएको बताए । साउन भगवान् शिवको प्रिय महीना मानिन्छ । साउनमा देशका विभिन्न भागका साथै भारतलगायत देशबाट पनि भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शकका लागि आउने गर्छन् ।

    गत वर्ष पनि साउन महिनामा कोरोनाका कारण वर्षभर मन्दिर खुल्न सकेको थिएन । गत वर्ष साउनमा भक्तजनले पशुपति क्षेत्रमा आएर बाहिरबाटै पशुपतिनाथको दर्शन गरेका थिए । बाहिरबाट दर्शन गर्नसमेत भक्तजनको भीड लागेको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस