काठमाडौं। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा जारी बहस सकिएको छ। बहस सकिएपछि अब २८ असारमा संवैधानिक इजलास बस्नेछ।
सोमबारसम्म रिट निवेदक, विपक्षीको बहस सकिएको छ भने एमिकस क्युरीले समेत राय दिइसकेका छन्। योसँगै मुद्दा हेर्दाहेर्दैमा राखेर २८ असारमा पेशी तोकिएको छ।
सोमबार रिट निवेदक पक्षका कानुन व्यवसायीले जवाफी बहस सकेपछि एमिकस क्युरी राघवलाल वैद्य, उषा मल्ल पाठक, कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीले राय दिएका थिए।
प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहित १४६ सांसदले सर्वोच्च अदालतमा रिट दायर गर्दै धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेशको माग गरेका छन्।
रिटमाथि प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ सम्पन्न भएको हो। अब २८ असारको इजलासबाट फैसला हुने सम्भावना छ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।