काठमाडौं। प्रतिनिधिसभा विघटनसम्बन्धी बहसका क्रममा संवैधानिक इजलासमा एमिकस क्युरीका रुपमा उपस्थित वरिष्ठ अधिवक्ता राघवलाल वैद्यले प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्ति नै असंवैधानिक भएकाे बताएका छन्।
उनले संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्त असंवैधानिक भएकाे दाबी गरेका हुन्।
उनले ओलीको नियुक्तिको व्यहोरा हेर्नुपर्ने भन्दै उनले भने, ‘प्रतिनिधि सभामा ठूलो दलको नेताको हैसियतले नियुक्त गरियो। उहाँ वैशाख ३० गतेमात्र संसदीय दलको नेता भएको हो र ? जतिबेला संसदमा विश्वासको मत आर्जन गर्नुभएन, त्यतिबेला नै एमाले संसदीय दलको नेता हुनुहुन्थ्यो।’
उनले संसदबाट विश्वासको मत नपाएपछि एमालेले संसदीय दलको नेता परिर्वतन नगरेको भन्दै उनले ३० वैशाखमा ओलीको प्रधानमन्त्रीमा नियुक्त नै असंवैधानिक भएको बताए। उनले भने, ‘२७ गते विश्वासको मत गुमाएको प्रधानमन्त्रीको निकास के हो ? संविधानको संरक्षण गर्नुपर्ने राष्ट्रपतिले खोज्नु पर्दैन?’
प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि पदमुक्त भएका ओलीबारे राष्ट्रपतिले निकास दिनुपर्नेमा देशलाई गुमराहमा राखेर फेरि उनैलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु गलत भएको उनको भनाइ थियो।
‘पदमुक्त भएका व्यक्तिलाई फेरि प्रधानमन्त्रीमा गरिएको नियुक्ति नै बेठीक छ’ उनले भने, ‘विश्वासको मत नपाएको व्यक्तिले फेरि त्यही पदमा दाबी गर, सत्तामा बस भनेको हैन, घर जाउ भनेको हो।’
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।