• महिलाले अधिकारका लागि लडेर मात्र हुँदैन, प्रतिस्पर्धामा जानुपर्छ : नेता सिटौला

  • नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले महिलामा कांग्रेसको पदाधिकारीमा प्रतिस्पर्धा गर्ने आँट हुनुपर्ने बताएका छन् ।

    लोकतन्त्रका लागि हाम्रो अभियानले आयोजना गरेको ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन : नीति र नेतृत्वमा महिला’ विषयक प्रदेश १ र २ स्तरीय भर्चुअल अन्तरक्रियामा उनले पार्टी पदाधिकारीमा पुरुषसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमता महिलाले राखेमात्र महिला क्षमता विकास हुने बताएका हुन् ।

    ‘पार्टीभित्र महिलाहरू समावेशी अधिकारका लागि मात्र लडेर हुँदैन, प्रतिस्पर्धामा जानुपर्छ, प्रतिस्पर्धासँगै महिलाको क्षमता विकास हुँदै जान्छ,’, नेता सिटौलाले भने । पार्टीका पूर्वमहामन्त्री सिटौलाले पार्टीभित्र चाकडी र चाप्लुसी बढ्दै गएकाले महिलाहरु नेतृत्वमा पुग्न नसकेको उल्लेख गरे । उनले संविधानअनुसार महिलालाई हरेक क्षेत्रमा ३३ प्रतिशत अधिकार दिनेबारेमा पार्टीभित्र आफू सकारात्मक रहेको स्पष्ट पारे ।

    कांग्रेस पूर्वकोषाध्यक्ष चित्रलेखा यादवले महिलाहरु नेतृत्वमा पुग्न नसकेसम्म महिलाका लागि उचित नीति बन्न नसक्ने बताइन् । ‘पार्टीको नीति निर्माणको ठाउँमा पुरुष हावी हुँदा महिला नेतृत्वलाई अगाडि बढाउन गाह्रो भयो,’ भनिन् ।

    उनले मुलुकका हरेक आन्दोलनमा महिलाहरुले अग्रणी भूमिका निर्वाह गरे पनि नेतृत्व तहमा अहिलेसम्म पुग्न नसकेको बताइन् । संविधानको मर्म र भावनाअनुसार पार्टीले महिला नेतृत्वलाई अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।

    पार्टीका केन्द्रीय सदस्य एवं कार्यक्रमका संयोजक डा डिला सङ्ग्रौलाले नेपालमा आधाभन्दा बढी जनसङ्ख्या भएको महिलाहरु कांग्रेसको नेतृत्वमा पुग्न नसकेको गुनासो गरिन् । उनले संविधानले राज्यको हरेक निकाय र पार्टीको हरेक संरचनामा एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गरे पनि उक्त अधिकारको पालना नभएको गुनासो गरिन् ।
    –––

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय