प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आशन्न १४औ महाधिवेशनको मिति नजिकिएसँगै क्रियाशील सदस्यता छानबिन समितिले असार मसान्तभित्र सम्पूर्ण काम सक्ने गरी कामलाई तीव्रता दिएको छ ।
कांग्रेसको १४औँ महाधिवेशनको मिति नजिकिएसँगै क्रियाशील सदस्य छानबिन समितिलाई समयमै काम सम्पन्न गर्ने दबाब बढेको छ । देशभरका स्थानीय पालिकाको वडा-वडाबाट सिफारिस हुने क्रियाशील सदस्यमा उजुरी परेपछि छानबिन समितिलाई टुंगो लगाउन समस्या परेको थियो ।
क्रियाशील सदस्यको नवीकरणमा समस्या नभए पनि नयाँ सदस्य र विभिन्न पार्टीहरू एकीकरण भई समायोजनमा आएकाहरूमा विवाद देखिएको छ । छानबिन समितिका सदस्य एवं केन्द्रीय सदस्य श्यामप्रसाद घिमिरेले प्राप्त विवरणलाई हेर्दा धेरै ठूलो समस्या नरहेको र तोकिएको समायमा छानबिन गरी विवरण सभापतिलाई बुझाउन सकिने बताए ।
प्राविधिक कामको चापलाई घटाउने गरी काम भइरहेको पनि उनले बताए । समितिमा प्राप्त भएको विवरणमा परेको उजुरीलाई पनि समयमै छानबिन गरी टुंगो लगाउने समिति सदस्य घिमिरेको भनाइ छ ।
यसबीच पार्टी सभापति शेरबहादुर देउवाले तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्ने बताएका छन् । शनिबार आफू निकट पदाधिकारीसँगको भेटमा क्रियाशील सदस्यसम्बन्धी समस्या जति सकिन्छ अहिले टुङ्ग्याउन, नसकिने विषयलाई अर्को महाधिवशेनका लागि छोडिदिन क्रियाशील सदस्य छानबिन समितिलाई निर्देशन दिएका थिए ।
क्रियाशील सदस्यको सूची प्रमाणित गरेर वडा, गाउँपालिका नगारपालिका प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला कार्यसमिति हुँदै केन्द्रमा आउनुपर्ने व्यवस्था छ । कांग्रेसको क्रियाशील सदस्य करिब ९ लाख पुग्ने अनुमान गरिएको छ । संगठनमा क्रियाशील सदस्यलाई सक्रिय कार्यकर्ता मानिन्छ ।
कांग्रेसमा क्रियाशील सदस्यहरूले महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य छानेर पठाउने छन् भने केन्द्रीय समितिका सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ ।
कांग्रेसको महाधिवेशन आगामी २३ भदौभित्र अनिवार्य रूपमा गरिसक्नुपर्ने छ । कांग्रेसको १४औँ महाधिवेशन आगामी १६ देखि १९ भदौसम्म काठमाडौंमा हुनेछ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।