• एमाले : के छ पाँचबुँदे संगठनात्मक योजनामा ?

  • केन्द्रीय समिति बैठक महासचिव ईश्वर पोखरेल पार्टीको पाँचबुँदे संगठनात्मक योजना पेश गरेका छन् । बैठकले महासचिव पोखरेलले पेश गरेको सांगठिन योजना पारित गरेको प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

    जसअन्तर्गत असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण गराइसक्नुपर्ने, ५ साउनभित्र त्यसको अभिलेख पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने, केन्द्रीय कमिटीको यसअधिको बैठकले तय गरेको आगामी २५-२७ साउनसम्म विधान अधिवेशन काठमाडौंमा गर्ने, त्यसका निम्ति पार्टीका अध्यक्षको संयोजकत्वमा राजनीतिक प्रतिवेदन, महासचिवको संयोजकत्वमा संगठनात्मक प्रस्ताव, संगठन विभाग प्रमुखको संयोजकत्वमा विधान संशोधन प्रस्ताव र नेता रामबहादुर थापाको संयोजकत्वमा व्यवस्थापन समिति गठन गर्ने प्रस्ताव पेश भएको थियो ।

    पार्टीको तल्ला तहका अधिवेशनअन्तर्गत आगामी ५ भदौमा वडास्तर र १५ भदौमा पालिकास्तरका अधिवेशन सम्पन्न गर्ने प्रस्ताव पेश भएको थियो । केन्द्रीय तहका विभिन्न ३२ वटा विभागमा रहने व्यक्तिको नाम प्रस्ताव गर्न यसअघि नै जारी अन्तरपार्टी निर्देशनअनुसार मागिएको सिफारिश अविलम्ब पठाउन आग्रह गरिएको छ । स्थायी कमिटीको आगामी बैठकले विभागमा रहने सदस्यको नामावाली टुङ्ग्याउने गरि प्रस्ताव गरिएको थापाले जानकारी दिए ।

    सिङ्गो मुलुक निर्वाचनको तयारीमा जुट्न अनुरोध गरिएको छ । पेश भएको प्रस्तावमा घनिभूत छलफल भएको उनले जानकारी दिए । ‘सिंगो मुलुक निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको छ । यी पाँचवटै बुँदालाई केन्द्रीय कमिटीमा घनीभूत छलफल भएर सुझाव सर्वसम्मतिले पारित गरेको छ । संगठनात्मक कामको योजनालाई पारित गरेको छ ।’

    बैठकले संगठनको काममा केन्द्रीत हुन सबै कार्यकर्तालाई निर्देशन दिएको छ । बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धनको भ्रम बारेमा स्पष्ट पारेका थिए । नेकपा एमालेविरुद्ध मोर्चाबन्दी गरिएको भन्दै उनले पार्टीका नेता कार्यकर्तालाई सच्चिएर फर्किन आह्वान गरे ।

    अध्यक्ष ओलीले अर्को बैठक सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गरेको भोलिपल्ट काठमाडौंमा बस्ने गरि सूचना आउने जानकारी पनि बैठकलाई गराएको थापाले बताए । ‘बैठकमा पार्टी अध्यक्षले स्पष्ट रूपमा के भन्नुभएको छ भने पार्टीको १४औँ बैठक अर्थात् आगामी बैठक सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गरेको भोलिपल्ट काठमाडौंमा बस्ने गरि सूचना आउने छ ।’

    प्रधानमन्त्री ओलीले अहिले विपक्षी मोर्चामा सामेल भएकालाई सर्वोच्च अदालतको फैसला आउनुअघि नै सच्चिएर आउन आग्रह पनि गरेको प्रचार विभाग उपप्रमुख थापाले जानकारी दिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय