• नारायणगढ–मुग्लिन सडकमा तीन दिनदेखि पहिरै पहिरा, यात्रुको बिचल्ली

  • निरन्तरको वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड तीन दिनदेखि अवरुद्ध हुँदै आएको छ । बिहिबार र शुक्रबार केही समय सडक खुलाउन सकिएपनि अन्य समय पहिराले सडक अवरुद्ध रहेको हो ।

    डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार सडकको सेती दोभान, चारकिलो र पाँचकिलोमा ठूलो पहिरो खसेको छ । शुक्रबार साँझ चारकिलो र पाँचकिलोमा खसेको पहिरो पन्छाएर सडक सञ्चालन गरिएको दुईघण्टा नपुग्दै सेती दोभानमा ठूलो पहिरो खसेको उनले जानकारी दिए ।

    त्यसपछि पुनः चारकिलो र पाँचकिलोमा पनि पहिरो खसेको हो । नारायणगढबाट २० किलोमिटर मुग्लिनतर्फ पर्ने सेती दोभानमा पछिल्ला वर्षहरुमा पहिलोपटक पहिरो खसेको हो । उनले भन्नुभयो, ‘मैले यो सडकमा काम गरेको ६ वर्ष भयो । पहिलो पटक यहाँ पहिरो खसेको हो ।’ सडकको भित्तातर्फ ५० मिटर भन्दा माथिबाट पहिरो झरिरहेकाले सफा गर्न कठिन भएको छ ।

    पहिरो रोकीएमा ५ देखि ६ घण्टामा सडक सफा गर्न सकिने भएपनि पानी परिरहेमा दिनभर लाग्न सक्ने उनको भनाइ छ । चार र पाँच किलोमा पहिलेकै ठाउँमा पहिरो खसेको हो । सडक सफा गर्न तीन वटा लोडर, एउटा एक्साभेटर, एउटा व्रेकर र दुईवटा जेसिबी परिचालन गरिएको छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानदाश थापा सो सडक बिहिबार चार घण्टा र शुक्रबार दुई घण्टा मात्र सञ्चालन गर्न सकिएको बताउँछन् । मुग्लिन नजिकै चारकिलो र पाँचकिलोमा पहिरो खसिरहेकाले समस्या भएको उनको भनाइ छ । सेती दोभानमा ठूलो पहिरो खसेपछि थप जटिल बनेको थापाले बताउनुभयो । सडक अवरुद्ध हुँदा विवाह लगायतका अत्यावश्यक काममा हिड्ने प्रभावित भएका छन् । ठूलो सङ्ख्यामा सवारीसाधनमा आएका यात्रुहरू सडकमा नै बिचल्लीमा परेको उनले जानकारी दिए ।

    शुक्रबार विवाहका लागि हिँडेका बेहुलाहरूको बिचल्ली परेको सामुहिक तस्विरहरू सार्वजनिक भएका थिए । यसैगरी पृथ्वी राजमार्गको घोप्टेभिर र कुरिनटारमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । लेदो खसिरहेकाले सडक दुईतर्फी अवरुद्ध भएको थापाले जानकारी दिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय