• कांग्रेस क्रियाशील सदस्य विवाद समाधान गर्न मापदण्ड तय

  • नेपाली कांग्रेसको क्रियाशील सदस्यमा देखिएको विवाद समाधान उन्मुख देखिएको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले देशभरबाट प्रक्रिया पूरा गरेर आएको क्रियाशील सदस्यको नामलाई समावेश गर्ने सहमति जुटाएको हो ।

    नेपाली कांग्रेसको क्रियाशील सदस्यको मनोनयनमा नेता अनुकूलको नाम आएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउबाले एकलौटी नाम सिफारिस गरेर पठाएको भन्दै निष्पक्ष छानबिनको गर्दै सभापतिलाई दबाब दिँदै आएको थियो । आज भएको सहमतिमा नवीकरण हुने क्रियाशील सदस्य र नयाँ सदस्यको छनोटको प्रक्रिया हेरी छानबिन समितिले निर्णय गर्न सक्ने गरी मापदण्ड पनि बनाएको छ ।

    यस्तै विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा आएकाहरूमा जिल्लादेखि सबै प्रक्रिया पूरा गरेर आएको नाम स्वीकृत गर्ने पनि सहमति भएको छ । प्रदेश जिल्ला र वार्डस्तरमा विवाद नै कायम रहेको क्रियाशील सदस्यको नाममा एकपटक सहमति जुटाउन प्रयास गर्ने सहमति हुननसके छानबिन समितिले आवश्यक प्रक्रिया र कागजपत्र हेरेर निर्णय गर्न सक्ने पनि बैठकमा सहमति जुटेको छ ।

    बैठकपछि बोल्दै क्रियाशील सदस्य छानबिन समितिका संयोजक रमेश लेखकले लामो समयदेखि विवादित बनेको क्रियाशील सम्बन्धि विषयले निकाश पाएको बताए । यो निर्णयसँगै क्रियाशील सदस्य छानबिनसम्बन्धी कुनै समस्या नरहेको र केही दिनमा छानबिनको काम सम्पन्न गर्न सकिने संयोजक लेखकले जानकारी दिए ।

    महाधिवेशन आउन दुई महिनाभन्दा कम समय बाँकी रहेका बेला कांग्रेसभित्र प्रारम्भिक मतदाता मानिने क्रियाशील सदस्यताको टुंगो लाग्न सकेको थिएन । असारभित्र जसरी पनि क्रियाशील सदस्यता विवाद टुंग्याइ सक्नुपर्ने दबाबमा रहेको छानबिन समितिले सदस्यता छानबिनबारे मापदण्ड बनाइदिन पार्टी पदाधिकारीलाई आग्रह गरेको थियो ।

    समितिको आग्रहमा बसेको बैठकले सहमति जुटाएपछि छानबिनको काम अगाडि बढ्ने बताइएको छ । कांग्रेशमा पुराना क्रियाशील सदस्यमा धेरै विवाद नरहे पनि समितिले अन्य पार्टीबाट आएका र नयाँ क्रियाशील सदस्यको सिफारिसमा विवाद देखिएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस