• देशभर वर्षा : ठाउँठाउँमा सडक अवरुद्ध, तराईमा डुवान, जनजीवन प्रभावित

  • काठमाडौं । गए रातिदेखि परेको अबिरल वर्षाका कारण देशका विभिन्न ठाउँमा डुबान तथा सडक अवुरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ ।

    वर्षाका कारण चितवनको विभिन्न स्थान डुबानमा परेकाे छ । वर्षाको कारण राप्ती नगर पालिका खैरहनी नगर पालिका र रत्ननगर नगरपालिकाको विभिन्न स्थान डुबानमा परेको प्रमुख जिल्ला अधिकारी प्रेम लामिछानेले बताए । उक्त स्थानका बासिन्दाहरूलाई सुरक्षित रहन समन्वय गरिरहेको उनले बताए ।

    अबिरल वर्षाले चितवनको सबै ठाडो खाेलाहरूमा बाढी आएकाे र कहाँ के कति क्षति भयाे भन्ने बिबरण आइनसकेकाे प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए ।

    त्यस्तै वर्षाका कारण महोत्तरीको जनजीवन पनि अस्तव्यस्त बनेको छ । मंगलबारदेखि लगातार मुसलधारे वर्षा भइरहँदा यहाँका सर्वसाधारण कटान र डुवानको चिन्ताले पिरोलिएका छन् । लगातारको वर्षाले जिल्लाका मध्य र दक्षिणी क्षेत्रका गाउँ/नगर बस्ती जलमग्न छन् । भर्खरैको धानको रोपो नदेखिने गरि पानीले गर्हा टन्न भरिएपछि किसानलाई रोपो गल्ने पिरोलो बढेको छ । पानीको उपयुक्त निकास नहुँदा सडक बाटाघाटा हिलाम्य छन् ।

    त्यस्तै, वर्षाका कारण पर्साका दर्जनौँ बस्ती डुवानमा परेका छन् । वर्षाको पानी नालाबाट राम्रोसँग निकास नभएपछि कतिपयको घर तथा पसलहरूमा पनि पानी छिरेको छ । अविरल वर्षाले पर्साको ग्रामीण क्षेत्रका नदी र खोलाहरूमा पानीको सतह बढेर बस्ती डुबानमा परेका छन् । नदी र खोलाको बाढीले केही स्थानमा खेतीयोग्य जमीनसमेत कटान गरेको छ ।

    वर्षाले मेलम्ची खोलाको बहाव बढेको छ । केही दिन अघि मात्र वितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयवासीलाई त्रसित बनाएको छ । बुधबार दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै प्ररीले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

    वर्षाका कारण तनहुँको बन्दीपुरस्थित विमलनगरमा मर्स्याङ्दी नदीले जलसतह सतर्कता पार गरेको छ ।  पछिल्लो छ घण्टा भारी वर्षा भएकाले नदी तटीय क्षेत्र तथा होचा स्थानमा डुबान हुनसक्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । लमजुङको घरेढुङ्गा, राइनसटारलगायतका ठाउँमा पनि नदीले जलसतह सतर्कता पार गरेको छ ।

    कमला नदी पानीको बहाव निरन्तर बढ्दै गएपछि स्थानीय प्रशासनले नदी क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलसहितको सुरक्षा निकायका प्रमुखहरुको टोलीले कमला क्षेत्रको निरीक्षण गरी नदीमा पानीको बहाव बढेकाले सचेत रहन स्थानीयवासीलाई गरेको हो ।

    वर्षापछि गएको पहिरोले ठाउँठाउँमा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । तनहुँको पूर्वी नाका आँबुखैरेनीदेखि पश्चिम नाका कोत्रेसम्मको करिब ७२ किलोमिटर दूरी पर्ने राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा अवरुद्ध भएको हो ।

    जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोला नजिक पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ । त्यसैगरी व्यास नगरपालिका–१२ घाँसीकुवा र छिर्कनमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

    नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको छ । पहिरो आज राति २ः१० बजे खसेको हो । यस क्षेत्रमा निरन्तर पानी परिरहेको छ ।

    देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भूभागनजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    यी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा भइरहेको छ । बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा गए रातिदेखि नै निरन्तर हल्का वर्षा भइरहेको छ । उपत्यकाको आकाश पूर्ण बदली रहेको छ ।

    तस्वीर – विश्व पौडैलेको फेसबुक

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय