युरोकप २०२० अन्तर्गत सोमबार राती भएको खेलमा स्विट्जरल्याण्डले फ्रान्सलाई पराजित गरेको छ । पेनाल्टी सुटआउटमा पुगेको खेलमा फ्रान्सका केलियन एम्बापेले गोल मिस गर्दा फ्रान्स पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
खेलको पूर्ण समयमा दुबै टिमले ३-३ गोल गरेका थिए । १५ औं मिनेटमा नै स्विट्जरल्याण्डका हारिस सोफेरोविचले गोल गर्दै अग्रता बनाएका थिए । ५७ ओं र ५९ औं मिनेटमा फ्रान्सका कारिम बेन्जेमाले लगातार दुई गोल गर्दै फ्रान्सलाई २-१ को अग्रता दिलाए । ७५ औं मिनेटमा फ्रान्सका पल पोग्बाले गोल गर्दै खेललाई ३-१ बनाए ।
तर, अन्तिम १० मिनेटमा स्विट्जरल्याण्डले दुई गोल निकाल्दै खेललाई बाराबरीमा ल्यायो । ८१ औं मिनेटमा सेफेरोविचले गोल गरे भने ९० औं मिनेटमा मारियो गाभ्रानोविचले गोल गर्दै खेललाई ३-३ बनाएका थिए ।
थप ३० मिनेटमा दुबै टिमले गोल गर्न नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीको सुरुवात स्विट्जरल्याण्डले नै गरेको थियो । स्विट्जरल्याण्ड कुनै पनि पेनाल्टीलाई गोल गर्न चुकेन । तर, फ्रान्सको तर्फबाट पाचौँ नम्बरमा पेनाल्टी सुट गर्न गाएका केलियन एम्बापेले पेनाल्टी मिस गरे । उनको प्रहारलाई स्विस गोलरक्षक सोमरले सहज रुपमा नियन्त्रणमा लिएका थिए ।
खेलमा जित हासिल गरेसँगै स्विट्जरल्याण्ड क्वाटरफाइनलमा पुगेको छ । स्विट्जरल्याण्डले अब स्पेनसँग खेल्नेछ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।