नेपाल राष्ट्र बैंकले विभिन्न कारणले समस्यामा परेका जलविद्युत् आयोजनालाई पुन:कर्जा उपलब्ध गराउने भएको छ । केन्द्रीय बैंकले आज ‘नेपाल राष्ट्र बैंक पुन:कर्जा कार्यविधि, २०७७’ संशोधन गरी समस्यामा परेका आयोजनालाई राहत दिने व्यवस्था गरेको हो ।
निजी क्षेत्रबाट सञ्चालन भएका आर्थिक रुपले सङ्कटग्रस्त जलविद्युत् आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले पहिचान गरेका आयोजनालाई त्यस्तो सुविधा दिइनेछ । कूल १० मेगावाट भन्दा साना जलविद्युत् आयोजनालाई बढीमा एक वर्षसम्म पुनर्कर्जा प्रदान गरिनेछ । अध्ययन समितिले १० मेगावाट भन्दा साना विभिन्न ३५ आयोजनामा समस्या रहेको निष्कर्ष निकालेको थियो । कोरोनाका कारणले समस्यामा परेका आयोजनालाई पनि यस्तो सुविधा उपलब्ध हुनेछ ।
केन्द्रीय बैंकले प्रतिग्राहक १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, पाँच करोडसम्मका विशेष र साधारण पुनर्कर्जा उपलब्ध लगराएको छ । उक्त कर्जा क, ख र ग वर्गका इजाजतप्राप्त संस्थालाई एकमुष्ठ रूपमा प्रदान गरिन्छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।