एजेन्सी। इजरायलमा अध्ययनकर्ताहरूले एक लाख वर्षभन्दा अगाडि जीवित आदिम मानवको अहिलेसम्म अज्ञात नयाँ प्रकार पत्ता लगाएका छन्।
राम्ला सहरनजिक भेटिएको अवशेष त्यस्तो प्रकारको प्राचीन मानवको अन्तिममध्येका एक व्यक्तिको हुनसक्ने अध्ययनकर्ताहरूको विश्वास छ।
उत्खनन गरिएका जिवावशेषमा १ लाख २० हजारदेखि १ लाख ४० हजार वर्षअगाडि जीवित रहेको मानवको खप्परको अंश र चिउँडो छन्। यसको विस्तृत विवरण साइन्स जर्नलमा प्रकाशित गरिएको छ।
अध्ययनकर्ताहरूले सो व्यक्ति युरोपमा नियन्डरथलको पुर्खाका रूपमा सयौं हजार वर्षअगाडि यो भूभागमा छरिएका प्रजातिको सन्तान हुनसक्ने विश्वास गरेका छन्।
वैज्ञानिकहरूले आदिम मानवको यो नयाँ प्रजातिको वंशलाई ‘नेशर राम्ला होमो’ प्रकार भनेर नामकरण गरेका छन्।
तेल अभिभ विश्वविद्यालयकी डा.हिला मेले यो खोजले नियन्डरथल र मानव विकास क्रमसम्बन्धी विवरणलाई नयाँ आकार दिने बताइन्। नियन्डरथल विकास क्रमलाई यसअघि युरोपसँग जोडिने गरिएको थियो।
उनले भनिन्,”यो सबै इजरायलमा सुरु भएको थियो। यहाँको स्थानीय समूह नै स्रोत जनसङ्ख्या भएको हामीले सुझाव दिएका छाैं।”
नेशर राम्ला मानवको पहिलो पुस्ता चार लाख वर्ष अगाडि नै मध्यपूर्वमा रहेको अध्ययनकर्ताहरूको विश्वास छ। नयाँ खोजिएको प्रकार र नियन्डरथलको अघिल्लो पुस्ताका आदिम मानिसबीच समानता देखिएको उनीहरूले बताएका छन्।
डा.मेले नेशर राम्लाहरू नीयान्डर्टालको पुर्खा हुनसक्ने बताइन्। उनले नेशर राम्लाहरू आदिम मानवका अन्य प्रकारसँग सन्तानोत्पादन गर्दै युरोपतिर गएको र अन्य समूहहरू एशियाका भारत र चीनतर्फ गएको हुनसक्ने बताइन्।
यसले एशियाका आदिम मानव र युरोपका नियन्डरथलबीचको सम्बन्धमा रहेको खाडल पनि पुर्ने उनले बताइन्।
“पूर्वी एशियामा पाइएका केही अवशेषहरू नियन्डरथल र नेशर राम्लासँग केही समानता भएका छन्”, प्राध्यापक इजरेल हेर्सकोभिट्जले भने।
नेशर राम्लाको अवशेष भेटिएको स्थान आदिम मानिसहरू आवतजावत गर्ने स्थान थियो। यो क्षेत्रमा भेटिएका ढुङ्गाका हतियारहरूका कारण यो स्थान उनीहरूले सिकार खेल्ने स्थान हुनसक्ने बताइन्छ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।