काठमाडौं । देशका अधिकांश भूभागमा आज बिहान सामान्य बदली रही प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बांकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
यस्तै आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बांकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको मौसमविद् विभूती पोखरेल बताउँछिन् ।
यसैबीच, काठमाडौंमा बिहानैबाट पानी पर्न सुरु भएको छ । आज दिनभर काठमाडौंको मौसममा बदली भइरहने मौसमविद् पोखरेल बताउँछिन् ।
“अहिले बिहानबाट सुरु भएको वर्षा केही समयपछि रोकिने छ । र, पुनः दिउँसो पानी पर्ने छ,” उनी भन्छिन्, “मनसुन भएकाले पानी पर्ने र रोकिने क्रम चलिरहने छ । तर, लामो समयसम्म निरन्तर वर्षा भने हुने छैन ।”
पोखरेलका अनुसार काठमाडौंको आजको अधिकतम तापक्रम २८–३० डिग्री सेल्सियससम्म पुग्ने छ ।
भारी वर्षाको सम्भावना रहेका प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागले जनाएको छ । नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद् पोखरेलको आग्रह छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।