• माओवादीबाट निर्वाचित भएर एमाले बनेका मेयर उपमेयरसहित १४ जनाको गयो पद

  • काठमाडौँ । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका दुई जना मेयर, पाँच जना उपमेयरसहित १४ जनप्रतिनिधिको पद निर्वाचन आयोगले रिक्त गरेको छ।

    माओवादी केन्द्रले पार्टीबाट २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिले दल त्याग गरेकोले कारवाही गरेको जानकारी निर्वाचन आयोगलाई दिएको थियो।

    आयोगले माओवादीको जानकारीअनुसार आज सूचना निकालेर १४ जनप्रतिनिधिको पद रिक्त भएको बताएको छ।

    जसअनुसार दुई मेयरको पद पनि गएको छ। रौतहट मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र रौतहटकै कटहरिया नगरपालिकाका मेयर सियारामप्रसाद कुशवाहाको पद रिक्त भएको छ।

    रीनाकुमारी एमाले नेता प्रभु साहकी श्रीमती हुन्। प्रभु साह पनि माओवादी छाडेर एमालेमा गएकोले माओवादीले सांसद पद हटाइदिएको थियो।

    यस्तै रौतहटकै देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी, मौलापुर नगरपालिकाका उपप्रमुख गौरीशंकर प्रसाद, फतुवाविजयपुर नगरपालिकाकी उपप्रमुख कान्ति देवी, माधवनारायण नगरपालिकाकी उपप्रमुख सिमलकुमारी साह र कैलाली भजनी नपाकी उपप्रमुख छायाँदेवी देवकोटाको पद रिक्त भएको छ।

    यस्तै महोत्तरी साम्सी गाउँपालिका प्रमुख शेष फारूक, रौतहट यमुनामाई गाउँपालिका उपाध्यक्ष गीतादेवी साहको पद पनि रिक्त भएको आयोगले जानकारी दिएको छ।

    उनीहरूले दल त्याग गरेको सूचना माओवादीले पठाएकोले स्वतस् पद रिक्त भएको आयोगले बताएको छ। आयोगको असार ९ मा बसेको बैठकको निर्णयअनुसार उनीहरूको पद रिक्त भएको हो।

    योसँगै रौतहटको मौलापुर नगरपालिकामा मेयर र उपमेयर दुबै कारवाहीमा परेपछि दुबै पद रिक्त भएको छ। यहाँ मेयर रीनाकुमारी साह र उपमेयर गौरीशंकर प्रसाद थिए।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय