• पहिलो एन्टिभाइरस कम्प्युटर सफ्टवेयर निर्माता म्याकाफी स्पेनको जेलमा मृत फेला

  • एजेन्सी। एन्टिभाइरस सफ्टवेयर व्यवसायी जोन म्याकाफी बार्सिलोनास्थित एक जेलमा मृत अवस्थामा भेटिएका छन् ।

    स्पेनको अदालतले उनलाई कर छलीको मुद्दामा अमेरिका सुपुर्दगी गर्न स्वीकृति दिएको केही घण्टापछि उनी मृत फेला परेका हुन्। क्याटालान न्याय विभागले जेलका स्वास्थ्यकर्मीले उनलाई बचाउन गरेको प्रयास असफल भएको जनाएको छ ।

    विभागले म्याकाफीले आत्महत्या गरेको संकेत दिएको बताएको छ। प्रविधि उद्योगमा विवादास्पद छवि बनाएका म्याकाफीको कम्पनीले विश्वको पहिलो एन्टिभाइरस सफ्टवेयर बजारमा ल्याएको थियो।

    म्याकाफी भाइरसस्क्यानले करोडौं डलरको उद्योग स्थापना गर्न अग्रणी भूमिका खेल्यो। पछि सो सफ्टवेयर कम्पनी ७६ करोड डलरमा इन्टेलले किनेको थियो।

    सन् २०२० को अक्टोबरमा स्पेनबाट टर्की जाने विमान चढ्ने क्रममा म्याकाफीलाई पक्राउ गरिएको थियो। उनीमाथि लाखौँ डलर कमाए पनि चार वर्षदेखि आयकर नतिरेको आरोप छ ।

    अमेरिकी न्याय मन्त्रालयले उनीमाथि साथीभाइ र अन्यको नाममा रहेको बैंक खाता र क्रिप्टोकरेन्सीमा आम्दानी राखेर कर जिम्मेवारी छलेको आरोप लगाएको थियो ।

    स्पेनको राष्ट्रिय अदालतले बुधवार बिहान उनलाई अमेरिकालाई सुपुर्दगी गर्न स्वीकृति दिएको थियो ।
    उनले सन् २०१६ र सन् २०२० मा लिबेटारियन पार्टीबाट अमेरिकी राष्ट्रपतिको उम्मेदवार बन्ने असफल प्रयास गरेका थिए।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस