• पोखरा महानगरको बजेट ६ अर्ब २७ करोड, यसरी जुटाइयो स्रोत

  • चालू वर्षको तुलनामा ८ करोड रूपैयाँ बजेट बढाएर पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको हो । महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ६ अर्ब २७ करोड रुपैयाँ बजेट उपमेयर मञ्जुदेवी गुरुङले प्रस्तुत गरेकी छन् ।
    पोखरालाई दुधमा आत्मनिर्भर बनाउन तथा गाईभैँसीको आयात प्रतिस्थापन गर्न बाच्छा तथा पाडी संरक्षण कार्यक्रम सञ्चालन गरिने जनाएको छ । प्रति बाच्छी/पाडी हुर्काएबापत किसानहरूलाई ४ हजार अनुदान दिने गरी कार्यविधि तयार गरिने उल्लेख गरिएको छ ।
    बजेटको लागि स्रोतहरुमा संघीय सरकार वित्तीय हस्तान्तरणबाट २ अर्ब ५६ करोड १६ लाख अर्थात ४१ प्रतिशत, प्रदेश सरकार वित्तीय हस्तान्तरणबाट ९ करोड २८ लाख अर्थात १ दशमलव ५ प्रतिशत रहेको छ । संघीय राजश्व बाँडफाँटबाट ३१ करोड २१ लाख ५४ हजार अर्थात ५ प्रतिशत, प्रदेश सरकार राजश्व बाँडफाँटबाट ६ करोड १८ लाख ७६ हजार अर्थात १ प्रतिशत, आन्तरिक आयबाट २ अर्ब २२ करोड अर्थात ३५ प्रतिशत व्यहोरिने छ । यसो गर्दा १ अर्ब ३ करोड ७५ लाख ९२ हजार न्यून छ । । न्यून हुन जाने बजेट पूर्ति गर्न गत आवको सञ्चित मौज्दात र चालु आवको अन्त्यमा बचत हुने रकमबाट व्यहोरिने उल्लेख गरिउको छ ।
    कुल विनियोजनमा चालुतर्फ  २ अर्ब ९० करोड ९४ लाख अर्थात ४६ दशमलव ४ प्रतिशत, पुँजीगत खर्चतर्फ रु.३ अर्ब ३६ करोड ८० लाख अर्थात ५३ दशमलव ६ प्रतिशत विनियोजन प्रस्ताव गरिएको छ । खर्च केन्द्रगत रुपमा नगर कार्यपालिकाको कार्यालयतर्फ ८८ करोड ८६ लाख अथार्त १४ प्रतिशत, सामाजिक विकासतर्फ १२ करोड ७९ लाख ८९ हजार, अर्थात २ प्रतिशत, शिक्षातर्फ १ अर्ब ४२ करोड ८७ लाख ३५ हजार, २२ दशमलव सातपाँच प्रतिशत, कृषितर्फ १४ करोड ४९ लाख अर्थात २ दशमलव ३ प्रतिशत, स्वास्थ्यतर्फ ४० करोड २२ लाख, ६ दशमलव ४ प्रतिशत, वडा कार्यालयतर्फ ४१ करोड ६० लाख ६ दशमलव ६ प्रतिशत, पूर्वाधारतर्फ २ अर्ब ८६ करोड ९० लाख अर्थात ४५ दशमलव ७ प्रतिशत बजेट प्रस्ताव गरिएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय