• पशुपतिको खाली जग्गामा गुर्जोको लगाइने

  • काठमाडाैँ । पशुपति क्षेत्रमा रहेको खाली स्थानमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न सहयोग गर्ने वनस्पति गुर्जो रोपण अभियानलाई तीव्र बनाइएको छ । यस वर्ष गत शनिबारदेखि पशुपति क्षेत्रमा गुर्जो रोपण अभियान शुरु भएको हो । गत वर्ष रोपिएका गुर्जोका बिरुवामध्ये एक हजार ५०० हुर्किएको अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिए ।

    यस वर्ष पनि शनिबार र बुधबार गरी ६०० बिरुवा पशुपति क्षेत्र किवास कोषको कार्यालय परिसरलगायत स्थानमा रोपिएको उनले जानकारी । आगामी शनिबार पनि पशुपति क्षेत्रका खाली स्थानमा गुर्जो रोपिने जनाइएको छ । पशुपति क्षेत्रका वनकाली, कैलाशडाँडा, मृगस्थली, गुह्येश्वरी, ध्रुवस्थली, भण्डारखाल, सिफललगायत स्थानमा गुर्जो रोपण गर्न लागिएको हो ।

    गुर्जो रोपणमा अभियानकर्मी राजलवट, पूर्वसहसचिव एवं योग शिक्षक किशोर जोशीलगायत कोषका पदाधिकारी एवं कर्मचारी सक्रिय छन् । । विसं २०७६ चैतमा कोरोना महामारी फैलिएर बच्न बन्दाबन्दी जारी गरिएदेखि नै गुर्जोका बिरुवा रोपण अभियानमा लाग्नुभएका राजलवटले यस वर्ष पनि अभियानलाई निरन्तरता  दिएका हुन ।

    यस वर्ष वर्षाद शुरु भएसँगै चार हजार बिरुवा आफैँ उपस्थित भएर रोपिएको उनकाे भनाइ छ । गत वर्ष उनले एक लाख ६० हजार गुर्जोका बिरुवा देशभर निःशुल्क वितरण गरेका थिए । यस वर्ष कीर्तिपुरको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, पृथ्वीनारायण शाहलाई कीर्तिपुरका सेनाले लखेटेको स्थलमा बनाइएको युद्ध पार्क, धुलिखेल अस्पताल चौर र मनोहरा नदी किनारमा गुर्जो रोपण भएको छ ।

    वाग्मती नदी किनारको तीनकुने पुलबाट शङखमूलसम्म नदी किनारको दायाँ बायाँ पनि शनिबार नै गुर्जो रोप्ने कार्यक्रम तय गरिएको छ । गुर्जो रोपणसँगै गुर्जोबाट बनेको चिया, धुलो औषधि पनि निःशुल्क वितरण गरिएको थियो । गुर्जोबाट बनेका परिकारको माग तीव्र भइरहेकाले एक घर एक गुर्जो रोपण अभियान चलाइएको अभियानकर्मी राजलवट बताउँछन । ‘यस्य देशस्य यो जन्तो ः तस्य तद् औषधं हितम्’ अर्थात् मानिसलाई त्यही स्थानको जडिबुटीले औषधिको काम गर्छ भन्ने आयुर्वेदशास्त्रको वचन अनुसार बहुगुणी वनस्पति गुर्जो रोपण अभियानलाई तीव्रता दिइएको अभियानकर्मी राजलवटले बताए ।

    गुर्जोसँगै अन्य औषधीय गुणले युक्त वनस्पति पनि रोपिँदै आएको अभियानकर्मीहरु बताउँछन् । आन्तरिक राजश्व कार्यालय लहानको कार्यालय प्रमुख हुँदा त्यहाँको सरकारी आवास क्षेत्रमा बिरुवा उत्पादन गरी उहाँले देशव्यापीरूपमा निःशुल्क वितरण अभियान चलाएका थिए  ।

    हाल आन्तरिक राजश्व कार्यालय धुलिखेलको प्रमुख भई आएका राजलवटले यो अभियानलाई निरन्तरता दिएका छन् । गुर्जोलगायत वनस्पतिबाट बनेका चिया र धुलोको माग कोरोना बढेका बेला अत्यधिक हुने गरेको छ । शरीरमा रोग प्रतिरोधी क्षमता विकास गरी कोरोना हटाउन यसले मद्दत गरेको अधिकांश सेवनकर्ताको अनुभव छ ।

    अनुभवका आधारमा गुर्जोलगायत जडिबुटीबाट बनेका चिया र धुलोको माग पनि बढेको छ । पशुपति क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धन गर्न आउने आन्तरिक एवं बाह्य पर्यटकका लागि औषधीय गुणले युक्त जडीबुटी उपहार पठाउन सकिने गरी खाली स्थानमा गुर्जो रोपण गर्न लागिएको हो । कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा पनि यस्ता अन्य वनस्पति रोपणलाई पशुपति क्षेत्रमा तीव्रता दिइने बताउँछन्  । पशुपति क्षेत्रका खाली स्थानमा वृक्षरोपण अभियानलाई समेत निरन्तरता दिइएको उनले बताए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस