• सरकारले नागिरकलाई कोरोना खोप किन दिन सकेन ?

  • काठमाडौं । कोरोना संक्रमण रोकथामविरुद्धखोप उत्पादन गर्दै आएका उत्पादक राष्ट्रहरूले नेपाललाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि अहिलेसम्म दिलाउन सकेका छैनन् ।

    बेलायत, रुस, अमेरिका, डेनमार्कलगायत राष्ट्रले (कोभ्याक्स फ्यासिलिटी, खरिद प्रक्रिया र अनुदानमार्फत) खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि नेपालले पाउन सकेको छैन ।

    खोप उत्पादक राष्ट्रहरूले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि सुनिश्चितता गर्न नसक्दा नेपालले कहिलेसम्म पाउने निश्चित छैन ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पुस मसान्तसम्म आमनागरिकलाई खोप लगाइसक्ने प्रतिबद्धता जनाएका छन् । तर, सो प्रतिबद्धता कार्यान्वयनमा सकस देखिएको छ । तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खोपमा‘ब्रेक थ्रु’ हुने बताएका थिए । उनी आफै मन्त्रीबाट हटिसकेका छन् ।

    ज्ञवाली हटेपछि परराष्ट्रमन्त्री नियुक्ति भएका रघुवीर महासेठले एक सार्वजनिक कार्यक्रममा अमेरिकाको जोन्सन एन्ड जोन्सनसँग ५० लाख डोज खोप किन्न कुराकानी भइरहेको बताएका थिए । तर, सो खोप आउने÷नआउने अन्योल छ ।

    यस्तै,तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले पनि केही दिनमा खोपसम्बन्धी सुखद् समाचार आउने राजधानीलाई बताएका थिए ।

    मन्त्रीबाट पदमुक्त भएपछि बुधबार उपलब्धि सार्वजनिक गर्दै निवर्तमान स्वास्थ्यमन्त्री तामाङले केही दिनमा नै खोप आउने सुनिश्चित भएको बताएका थिए । तर, खोप कहिले आउने कति मात्रामा आउने केही खुलाएका थिएनन् ।

    स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार ४ अर्ब ८९ करोड रुपैयाँभित्र रहेर चीनबाट भेरोसिल खोप ल्याउने तयारी छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘४ अर्ब ८९ करोड रुपैयाँभित्र रहेर चीनबाट भेरोसिल खोप निकट भविष्यमा आउनेछ ।

    सबै प्रक्रिया अघि बढेको छ ।’ चीनले नेपाललाई ४० लाख मात्रा भेरोसिल खोप चरणबद्ध रूपमा उपलब्ध गराउने बाचा दिएको छ ।

    कोरोना संक्रमणको अचुक उपाय मानिएको खोप कहिले नेपाल भित्रिने ? अन्योलता छाउँदा खोप लगाउनबाट सर्वसाधारण वञ्चित हुनुपरेको छ ।

    १३ लाख ५० हजार नागरिकले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएपनि १५ जेठभित्रै दोस्रो मात्रा लगाउनुपर्ने थियो । भारत सरकारले नेपालले खरिद गरेको १० लाख मात्रा उपलब्ध नगराउँदा ज्येष्ठ नागरिक दोस्रो मात्रा खोप लगाउनबाट वञ्चित हुनुपरेको हो ।

    खोप विज्ञ डा. श्यामराज उप्रेतीले खोप जहिले आएपनि पहिलोमात्रा लगाएकालाई दोस्रोमात्राका रूपमा गणना हुने बताए ।

    सरकारले क्रमिक रूपमा निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ । तर, अधिकांश नागरिकले खोप लगाउन नपाएकाले निषेधाज्ञा खुकुलो हुँदा थप जोखिम बढ्ने जनस्वास्थ्य विज्ञको आँकलन छ ।

    सरुवा रोग विशेषज्ञ डा।शेरबहादुर पुन संक्रमणबाट बच्ने उपाय कोरोनाविरुद्धको खोप र जनस्वास्थ्यका मापदण्ड पूर्णतः कार्यान्वयन रहेको बताउँछन् ।

    हालसम्म नेपालमा ४२ लाख ४८ हजार कोरोनाविरुद्धको खोप भित्रिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अनुमानित २६ लाख नागरिकले पहिलो मात्रा लगाएका छन् ।

    सरकारले २ करोड १७ लाख ५६ हजार ७ सय ६३ नागरिकलाई खोप लगाउने योजना बनाएको छ । अझै अनुमानित १ करोड ९० लाख नागरिकले खोप लगाउनै पाएका छैनन् । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय