• विपक्षी गठबन्धनले सरकारविरुद्ध आन्दोलन गर्ने

  • काठमाडौं । सर्वोच्च अदालतले वर्तमान सरकारले गरेका निर्णयको एकपछि अर्को गर्दै विपक्षमा फैसला गरेपछि उत्साही बनेका विपक्षी गठबन्धनले प्रतिगमन विरोधी आन्दोलनलाई अगाडि बढाउने भएको छ । बुधबार साँझ काँग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले त्यसका लागि जनपरिचालनका कार्यक्रमलाई अगाडि बढाउने निर्णय गरेको छ ।

    पाँच दलीय गठबन्धनलाई समर्थन गर्दै विहीबार गठबन्धन सम्बद्ध विद्यार्थी संगठनले विरोध प्रदर्शन गर्न लागेका छन् । उनीहरुको विरोध प्रदर्शन संविधान, लोकतन्त्र र राष्ट्रियताका विरुद्ध भएका जनविरोधी क्रियाकलापप्रति परिलक्षित हुने बताइएको छ । स्वास्थ्य मापदण्डलाई ध्यानमा राखेर ती दल र तिनका भातृसंगठनहरुले विरोध कार्यक्रम निरन्तर जारी राख्ने भएका छन् ।

    जनपरिचालनकै कार्यक्रम अन्तर्गत बाढी-पहिरोबाट क्षति भएका ठाउँमा राहत र सहयोगको कार्यक्रमका लागि संगठन परिचालन गरिने निर्णय पनि भएकाे छ ।

    यस्तै गठबन्धनको बैठकमा प्रदेश २ र गण्डकी प्रदेश सरकारलाई पूर्णता दिँदै गठबन्धनलाई अझै मजबुत बनाउने निर्णय बैठक पश्चात सञ्चारकर्मीसँग कुरा गर्दै जनता समाजवादी पार्टी, नेपालका नेता डा. बाबुराम भट्टराईले बताए । गठबन्धनले विहीबार सम्पादकसँगको अन्तरक्रिया कार्यक्रम पनि गर्ने भएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस