काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना रोकथाम तथा उपचारमा सरकारले गरेको लगानीका सम्बन्धमा श्वेतपत्र जारी गर्न सरकारसँग माग गरेको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिका तर्फबाट नेता प्रकाशशरण महत नेतृत्वको टोलीले भेट गरी सरकार कोभिड–१९ रोकथाम तथा उपचारका लागि पारदर्शी हुन नसकेको भन्दै यसमा सरकारले गरेको लगानीको सम्बन्धमा श्वेतपत्र जारी गर्न माग गरेको हो ।
‘अहिलेसम्म स्वास्थ्य क्षेत्रमा कोभिड-१९ को रोकथाम र उपचारमा सरकारले लगानी गरेको भनेको छ त्यो अपारदर्शी छ । त्यसको एउटा स्वेतपत्र जारी गर्नुपर्छ । र गतसमयमा धेरै दुरुपयोग भएको, भ्रष्टाचार भएको कुराहरू आएकाले सार्वजनिक चासो र चिन्ताको विषय भएको छ । अब त्यस्तो नहोस्’ उनले भने ।
नेता महतले कोरोना नियन्त्रण तथा रोकथामका लागि खोपको विकल्प नभएकाले खोप ल्याउने विषयमा सरकारको कार्ययोजना के छ जनताले जान्न पाउनुपर्ने माग राखिएको पनि बताए । खोपको छिट्टै सुनिश्चित गराउनको लागि पनि सरकारको ध्यानाकर्षण गराएको उनले जानकारी दिए ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।