कोपा अमेरिका अन्तर्गत सोमबार राती भएको खेलमा अर्जेन्टिनाविरुद्ध पाराग्वे १-० ले पराजित भएको छ । खेलको १० औं मिनेटमा नै एलेजान्द्रो डारियो गोमेजले अर्जेन्टिनाका लागि गरेको गोल नै निर्णायक गोल बनेको थियो ।
पहिलो हाफको अतिरिक्त समयमा अर्जेन्टिनाले एक गोल गरेको थियो । तर, भिआर परिक्षणबाट उक्त गोललाई अफसाइड ठहरिएको थियो ।
पाराग्वेलाई हराएसँगै अर्जेन्टिनाले ३ अंक जोडेको छ । यसअघि चिलीसँग बराबरी खेलेको अर्जेन्टिनाले उरुग्वेविरुद्ध जित हात पारेको थियो । अर्जेन्टिना ७ अंकसहित क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पहिलो खेलमा बोलिभियालाई हराएको पाराग्वेले दोस्रो खेलमा अर्जेन्टिनासँग हार बेहोरेको हो । पाराग्वे ३ अंकसहित समूहको तेस्रो स्थानमा छ ।
बराबरी बन्यो उरुग्वे र चिली
सोमबार राती नै भएको खेलमा चिली उरुग्वेसँग बराबरीमा रोकिएका छन् । खेलमा दुबै टिमको १-१ गोल गर्न सफल भएका हुन ।
खेलको २६ औं मिनेटमा इडुअर्डो भर्गासले गोल गर्दै चिलीलाई १-० को अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको ६६ औं मिनेटमा चिलीका अथुरो भिडालले आफ्नै पोष्टमा गोल गर्दै खेललाई १-१ को नतिजा दिए ।
यस खेलबाट दुबै टिमले १-१ अंक बाडेका छन् । यसअघि अर्जेन्टिनासँग बराबरी खेलेको र बोलिभियाविरुद्ध जित हासिल गरेको चिली जम्मा ५ अंकसहित समूहको दोस्रो स्थानमा छ ।
अर्जेन्टिनासँग हार बेहोरेको उरुग्वे भने दुई खेलबाट १ अंक जोड्दै समूहको चौथो स्थानमा छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।