• देउवालाई रोकेर आफैँ अघि बढ्दै निधि

  • काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन् ।

    सभापति शेरबहादुर देउवाले फेरि पनि आफूलाई पार्टी नेतृत्वमा अघि सार्नेगरी छलफल चलाएका छन् भने उनकै समूहमा रहेका हालका उपसभापति विमलेन्द्र निधिले पनि पार्टी नेतृत्वका लागि दौडधुप सुरु गरिसकेका छन् ।

    सभापति देउवाले शनिबार, आइतबार र सोमबार बूढानीलकण्ठस्थित निवासमा आफू निकट नेताहरूलाई बोलाएर आगामी १४औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने भन्दै नेताहरूलाई सोहीअनुसार वातावरण बनाउन भनिसकेका छन् ।

    शनिबारको छलफलमा पुगेका उपसभापति निधिले भने देउवालाई ‘तपाईं आराम गर्नुस्, मलाई सघाउनुस्, म तपाईंकै समर्थनमा सभापति लड्छु,’ भन्दै मुख खोलेका छन् ।

    त्यति मात्रै होइन सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नेताहरूसँग देउवाले बूढानीलकण्ठमा आफूनिकट नेताहरूसँग महाधिवेशन तयारीबारे छलफल गर्दै गर्दा निधिले कांग्रेसको संस्थापक नेताहरू बीपी कोइराला पुत्र डा. शशांक कोइराला र गणेशमान सिंह पुत्र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई निवासमा बोलाएर ‘लन्च मिटिङ’ नै गरे । निधि भने कांग्रेसका संस्थापक मध्येकै एक नेता महेन्द्र नारायण निधिका पुत्र हुन् ।

    निधिले सोमबार आफ्नो वैवाहिक वार्षिकोत्सव पारेर नेताहरूलाई घरमा नै बोलाएर समसामयिक राजनीतिक अवस्था र पार्टीको महाधिवेशनबारे ‘लन्च मिटिङ’ गरेको उनका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय