• अब मेलम्चीकाे पानी आउला ?

  • काठमाडौं । मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा आउने समय पछि धकेलिने निश्चित भएको छ । मेलम्ची खानेपानी आयोजना स्थलमा गत मंगलवार आएको बाढीका कारण क्षति पुगेपछि काठमाडौं उपत्यकामा पानी आउने निर्धारित समय लम्बिने निश्चित भएको हो । असार १ गतेदेखि सुरूङ खाली गरी निरीक्षण तथा परीक्षण गर्न आयोजनाले उपत्यकामा पानी वितरण गर्न स्थगित गरेको थियो ।

    त्यही दिन आयोजनाको मुख्य बाँध स्थल अम्बाथानमा बाढी आउँदा भएको क्षतिले मेलम्चीको पानी ल्याउने निर्धारित समय लम्बिने पक्का भएको हो । सुरुङ परीक्षण तथा निरीक्षणका लागि भदौ मसान्तसम्म काठमाडौंमा मेलम्चीको पानी वितरण नहुने समितिले यसअघि नै सूचना जारी गरिसकेको थियो ।

    समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बाढीपछिको अवस्थाले पहिले तोकिएको मितिमै पानी ल्याउन सकिने सम्भावना नभएको बताए । सडक विभाग, नेपाली सेना, स्थानीय सरोकारवाला निकायको सहयोग भएमा निर्धारित समयभन्दा केही महीना ढिलाइ भए पनि पानी ल्याउन सकिने उनको भनाइ छ ।

    ‘आयोजना स्थलमा क्षति भएका पूर्वाधारहरू सडक, क्याम्प, पुलहरू बनाउँदा मर्मतसम्भारले कति समय लिन्छ भन्ने कुराले पानी आउने आधार तय गर्नेछ,’ पन्तले भने, ‘क्षति भएका संरचनाहरू बनाउन थप २÷३ महीना लाग्ने देखिन्छ किनभने भर्खर वर्षाको सिजन शुरू भएको छ र जोखिम कायमै छ ।’

    अहिले पनि नदीको जलस्तर बढ्ने क्रम जारी रहेकाले प्रभावित क्षेत्रसम्म पुग्न नसकिएको पन्तले जानकारी दिए । आज आयोजना तथा समितिका अधिकारीहरू आयोजना स्थलसम्म जाने तयारी गरेका छन् । ‘मेलम्ची बजारबाटै बाढीबाट बिग्रेको सडक मर्मतसम्भार गर्दै अघि बढ्ने प्रयास गरिएको छ,’ पन्तले भने, ‘त्यहाँ पुग्न सकिएको छैन, प्रारम्भिक प्रतिवेदनले आयोजनाका प्रवेशमार्ग (एप्रोच रोड), चारओटा पुल, क्याम्पहरू बगेका छन् ।’ अम्बाथानसम्म पुग्न नसकेको र हेलिकोप्टरबाट अवलोकन गरिएकाले विस्तृत क्षतिको विवरण आउन नसकेको उनको भनाइ छ ।

    मेलम्ची बजारदेखि आयोजना स्थलसम्म पुग्ने पहुँचमार्ग २१ किलोमीटरको छ । त्यसमध्ये आधाजति सडक मर्मतसम्भार गर्नुपर्ने अवस्था छ । निर्माण सामग्रीका साथसाथै उपकरणहरू र क्याम्पहरू पनि बगेको हुँदा निर्धारित समयमै उपत्यकामा पानी वितरण हुने सम्भावना न्युन बनेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस