• नेपालमा कोरोनाको डेल्टा भेरियन्टमा नयाँ म्युटेसन पुष्टि

  • काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्टमा नयाँ म्युटेसन पुष्टि भएको छ । कोरोनाको दोस्रो लहर ल्याउन कारक मानिएको डेल्टा भेरियन्ट अरुभन्दा संक्रामक मानिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलका अनुसार भारतको नयाँदिल्लीस्थित इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा परीक्षण गरिएको ९ वटा नमुनामा नयाँ म्युटेसन फेला परेको हो ।

    देशका विभिन्न भागबाट विभिन्न उमेर समूह र लिंगलाई प्रतिनिधित्व हुने गरी राष्ट्रिय प्रयोगशालाले वैशाख २६ देखि जेठ २० गतेसम्म ४८ वटा नमुना संकलन गरेको थियो ।

    ती नमुनालाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको भारतको प्रयोगशालामा गरिएको परीक्षणमा ४८ मध्ये ४७ जनामा डेल्टा भेरियन्ट र एउटामा अल्फा भेरियन्ट फेला परेको थियो ।

    डेल्टाका ४७ नमुनामध्ये ९ नमुनामा के ४१७ एन म्युटेसन भेटिएको छ ।

    यसअघि बेलायती सञ्चार माध्यमले ‘नेपाल भेरियन्ट’ भनेर दाबी गरेको यही म्युटेसन हो । नेपालबाट गएका र कोरोना संक्रमण भएकाहरुमा के ४१७ एन’ म्युटेसन भेटिएकै आधारमा उनीहरुले यो दाबी गरेका थिए ।

    नेपालमा यसअघि डेल्टा, अल्फासहित कप्पा भेरियन्ट पनि भेटिएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय