• इरानको राष्ट्रपतिमा इब्राहिम रइसी निर्वाचित

  • एजेन्सी। इस्लामिक कट्टरपन्थी विचारधाराका प्रधानन्यायाधीश इब्राहिम रइसी इरानको राष्ट्रपतिमा निर्वाचित भएका छन्।

    न्यून मतदान भएको यस पटकको राष्ट्रपति निर्वाचनमा इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको समर्थनप्राप्त रइसीले भारी मत प्राप्त गरेका छन्।

    सन् १९८८ मा हजारौं राजनीतिक बन्दीहरुको सामूहिक हत्याको आरोप खेप्दै आएका रइसीमाथि अमेरिकाले प्रतिबन्धहरु लगाइरहेको छ। साथै उनीमाथि सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुँदा धेरै मानिसलाई मृत्युदण्ड दिनेगरी फैसलाहरु गरेको आरोप छ।

    यस पटकको राष्ट्रपति निर्वाचनमा सुधारवादी पक्षधरहरुको उम्मेदवारी नै रद्द गरिएका कारण पनि रइसीले चुनाव सहजै जित्ने अनुमान गरिएको थियो। यसपटक चार जना मात्र चुनावी मैदानमा थिए।

    इरानी सर्वोच्च नेता खामेनीको संयोजकत्वमा गठित समितिले उम्मेदवार छनौटमा मनोमानी गरेको भन्दै त्यसको विपक्षमा रहेकाहरुले मतदान बहिस्कार गर्न आह्वान गरेका कारण पनि कम मतदान भएको अड्कल गरिएको छ। धेरै मानिस मतदान गर्न जानुको साटो घरमै बसेका थिए।

    इरानमा कुल पाँच करोड ९० लाख मतदातामध्ये करिब दुई करोड ८९ लाखले मात्र मतदान गरेका थिए। मतदानमा सहभागीमध्ये पनि करिब ३७ लाखको मतपत्र बदर भएको छ।

    इरानी राज्य नियन्त्रित टेलिभिजनले कम मतदाता सहभागी हुनुमा कोरोनाभाइरस महामारी र अमेरिकी प्रतिबन्धहरु मुख्य रुपमा जिम्मेवार रहेको बताएको छ।

    एम्नेस्टी इन्टरनेसनलका महासचिव आग्नेस कालामार्डले इब्राहिम रइसीमाथि मानव हत्या, जबर्जस्ती बेपत्ता र यातनाजस्ता मानवता विरोधी अपराधको अनुसन्धान हुनुको साटो राष्ट्रपतिमा निर्वाचित हुनु बिडम्बना रहेको बताएका छन्।

    आधिकारिक घोषणामा रइसीले समग्रमा एक करोड ७९ लाख मत प्राप्त गरेको देखाइएको छ। कुल मतदान भएकोमध्ये रइसीले झण्डै ६२ प्रतिशत मत प्राप्त गरेका छन्।

    दोस्रो स्थानमा रहेका पूर्व कट्टरपन्थी रिभोल्युसनरी गार्डका कमान्डर मोहसेन रेजाईले ३४ लाख मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

    राष्ट्रपति हसन रौहानीको समर्थनप्राप्त केन्द्रीय बैंकका पूर्व प्रमुख अब्दोलनास्सेर हेम्माटीले २४ लाख मत प्राप्त गरी तेस्रो भएका छन्। अमिरहोसेन घाजीजादेह हाशेमीले १० लाखभन्दा कम मत प्राप्त गरेका थिए।

    मतगणनाको नतिजा सार्वजनिक गर्दै गृहमन्त्री अब्दोलरेजा रहमानी फाज्लीले बदर भएको मतको संख्या खुलाएका थिएनन्। सन् २०१७ र २०१२ मा भएका मतदानमा करिब १२ लाख मत बदर भएका थिए। इरानमा चुनावमा अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई अनुगमनका लागि अनुमति दिइएको छैन।

    सिरियाका राष्ट्रपति बसार असादले रइसीलाई राष्ट्रपति पदमा निर्वाचित भएकोमा बधाई दिएका छन्। इरानका राष्ट्रपतिहरु प्रायः सबै दुई कार्यकाल पदमा रहेका छन्। इरानमा राष्ट्रपतिको कार्यकाल चार वर्षको हुन्छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय