नेपालमा मनसुन प्रवेशसँगै लगातार भइरहेको भारी वर्षाका कारण केही नदीमा पानीको सतह बढ्दै गएको छ । जसले गर्दा ५ असारमा २७ जिल्लामा बाढीको उच्च जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले शनिबार बिहान जारी गरेको बुलेटिनेमा केही नदी तथा खोलामा आकस्मिक बहाव बढ्नसक्ने उल्लेख गरेको छ । त्यस्तै, केही नदीमा भने बिहानैबाट पानीको बहाव बढेको छ ।
चिनियाँ क्षेत्रमा अत्यधिक वर्षा र पहिरोको कारण तामाकोसी नदीको बहाव रोकिएको छ । नदीको बहाव खुल्दा तामाकोसी नदीमा बाढी आउनसक्ने जनाइएको छ । जिल्ला प्रशासन कार्यालय, दोलखाले सूचना जारी गरी सतर्कता अपनाउन अनुरोध गरिसकेको छ गरेको छ ।
त्यस्तै, महाकाली र त्यसका आसपासका सहायक नदीमा पानीको बहाव सतर्कता तहसम्म पुगेको महाशाखाले जनाएको छ । कोसी, नारायणी, कर्णाली र सहायक नदीमा पनि पानीको सतह बढ्दै गएको छ। त्यस्तै, पश्चिम राप्ती र बबईमा पनि बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।