सोमबार गंगा स्नान गर्न गएका स्थानीय गुल्लु मल्लाहको कानमा अचानका शिशु रोएको आवज गुन्जियो । सुरुमा उनलाई अचम्म लाग्यो । यता-उती हेरे । गंगामा बग्दै गरेको एउटा बाकस भित्रबाट शिशु रोएको आवाज आइरहेको थियो । धेरै जना भएको गंगामा बाकस खोल्ने आँट कसैले गरेनन् ।
तर, बाकसभित्र शिशु निरन्तर रोइरहेपछि उनको मन मानेन । गुल्लु गंगामा हेलिएर बाकसलाई किनारमा ल्याए । उनले बाकस खोले ।
बाकस खोल्दा आफू अचम्ममा परेको उनी बताउँछन् । बाकसमा रातो कपडामा बेरिएकी एउटी २१ दिनको बच्ची थिइन् । साथमा थियो माता दुर्गाको तस्वीर र उनको नामसहितको जन्मदर्ता । बच्चीमा चोटपटकसमेत नभएको बताउँछन् उनी ।
जन्ममिति र उनको नाम लेखिएको सो कागजमा ‘मैले गंगा मातालाई कन्यादान गरेको छु, ॐ जय माँ दुर्गा’ लेखिएको थियो ।
बच्चीलाई गुल्लुले आफ्नी छोरीजस्तै बनाएर पाल्ने विचार गरेर घर ल्याए । घरमा ल्याएकी बच्चीलाई उनकी बुहारीले दूध खुवाइन र बच्ची शान्त भइन् ।
घटना भएको कुरा प्रहरीले थाहा पाइसकेको थियो र प्रहरीले बच्चीलाई अस्पताल भर्ना गर्यो ।
सो घटनाबारे थाहा पाएपछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बच्चीको सबै लालनपालन राज्य सरकारले गर्ने बताएका छन् । साथै बच्चीको उद्धार गर्ने गुल्लुले मानवीयताको अनुपम नमूना देखाएका भन्दै सरकारी सुविधा दिने घोषणासमेत गरेका छन् ।
ती बच्चीलाई कसले र किन त्यसरी गंगामा बगायो भन्ने खुलिसकेको छैन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।