• आयुर्वेद स्वास्थ्य केन्द्रमा कोभिड उपचारको फरक शैली

  • पश्चिम चितवनको भरतपुर महानगरपालिका—१४ शिबनगरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले स्थापना गरेको आइसोलेसनमा आयुर्वेद एवं प्राकृतिक चिकित्सा शैलीबाट उपचार शुरु गरिएको छ । कोरोना सङ्क्रमण भएर उपचारका लागि आएका बिरामीलाई जिल्लाका ठूला अस्पतालले भन्दा फरक शैलीमा उपचार गरिएको हो ।

    स्वास्थ्य केन्द्र प्रमुख डा कोपिला अधिकारीका अनुसार उक्त आइसोलेसनमा उपचाररत कोभिड संक्रमितलाई खुल्ला वातावरणमा आयुर्वेद, योग, प्राणायाम, अमृत भोजन, स्वस्थ जीवनशैलीसम्बन्धी जानकारी, रोग प्रतिरोधात्मक क्षमता बढाउने जडीबुटी क्वाथ, कोरोनाको लाक्षणिक उपचारका लागि आयुर्वेदिक औषधिसहित पारिवारिक वातावरणमा उपचार सुरु गरिएको छ ।

    चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, योग प्रशिक्षकसहितको समूहले सो आयुर्वेद आइसोलेसन सेन्टरमा सेवा दिइरहेको अधिकारीले जानकारी दिइन् । उनले भनिन्, ‘बिहान दैनिक योग आसन, प्राणायाम, मन्त्रोच्चारणसहित दैनिकी शुरु हुन्छ, चिकित्सकको प्रत्यक्ष निगरानीमा रोग प्रतिरोधात्मक क्षमता बढाउने जडीबुटीको क्वाथ दिइन्छ ।’ आइसोलेसन सेन्टरभित्रै तयार गरिएको ताजा अमृत भोजन, टुसा उमारेको गेडागुडी, बिरामीको अवस्थाअनुसार फलफूल बिरामीलाई खान दिइएको उनले बताइन् ।

    डा. अधिकारीले भनिन्, ‘आयुर्वेद पद्दति अनुसार पोषण अवस्थालाई ख्याल गरी दूध, अण्डा खुवाउने गरिएको छ ।’ यहाँ आएका बिरामीलाई अक्सिजनको प्रयोग सकेसम्म नगरी उपचार गरिएको उनले जानकारी दिइन् । उनले भनिन्, ‘लक्षण देखिएर आएका बिरामीलाई उपचारका क्रममा खासै कृतिम अक्सिजनको प्रयोग गरेका छैनौँ ।’

    आइसोलेसन सेन्टरको परिसरमा पिपल, तुलसी, घिउकुमारी, सेंसेभेरिया, रुद्राक्ष, सीता अशोकजस्ता पर्यावरणमा अक्सिजनको मात्रा बढाउन मद्दत गर्ने जडीबुटीका बिरुवा रोपिएको छ । परिसरमा रहेको पुरानो पिपल र समीको रुखहरुले वातावरणमा शुद्धता थपेको छ । कृतिम रुपमा दिइने अक्सिजन भन्दा प्राकृतिक रुपमा पाइने अक्सिजन अझ बढी प्रभावकारी हुने उनको भनाइ छ ।

    कोभिड सङ्क्रमितको मनोबल उच्च राख्न चिकित्सक स्वास्थ्यकर्मीको समूह २४ सै घण्टा आइसोलेसन सेन्टरमा खटिएका छन् । अहिले सो सेन्टरमा तीन जना चिकित्सक, नर्स चार जना, सहयोगी दुई जना र अन्य पारामेडिक कर्मचारी गरी १३ जना उपचारमा खटिएका छन् । उनका अनुसार साँझको समयमा ब्याडमिन्टन, लुँडोलगायत खेलकुदको व्यवस्था गरिएको छ । साँझमा छातीको व्यायाम, प्राणायाम र मन्त्रोच्चारण गरिने अधिकारीको भनाइ छ ।

    हाल आयुर्वेद आइसोलेसनमा छ जना सङ्क्रमितको उपचार भइरहेको छ । यसमा चार जनामा सामान्य लक्षण र दुई जनामा लक्षण नभएका बिरामीको उपचार भइरहेको छ । उपचारमा रहेका छ जना विगत एक सातादेखि राखिएको छ । पोस्ट कोभिड व्यवस्थापनका लागि पनि तुरुन्त काम शुरु गरिने अधिकारीले जानकारी दिइन् । वागमती प्रदेश सामाजिक विकास मन्त्रालयको पहलमा भरतपुर महानगरपालिकाको स्थानीय सहयोगमा भरतपुर महानगरपालिका वार्ड नं १४ र १५ को पायक पर्ने स्थानमा सो आइसोलेशन केन्द्र सञ्चालन गरिएको छ ।

    बिरामीको लागि अत्यावश्यक अक्सिजनसहित २० शय्याको सो आयुर्वेद आइसोलेसन सेन्टर चितवन जिल्लामै नमूना आइसोलेसन सेन्टरको रूपमा सञ्चालनमा ल्याइएको उनको दाबी छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय