• जसपा उपेन्द्र-बाबुराम पक्ष आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाँदै

  • जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव-बाबुराम भट्टराई पक्ष पार्टीको आधिकारिकता दाबी गर्न आज निर्वाचन जाने भएको छ ।

    पार्टीको बिहीबार भएको कार्यकारिणी समितिको बैठकले निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको थियो । बिहीबारको बैठकको निर्णयअनुसार आज निर्वाचन आयोगमा जान लागिएको जसपा केन्द्रीय कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले जानकारी दिए ।

    उनले आवश्यक कागजपत्र जुटाएर केहीबेरमा निर्वाचन आयोग जाने बताए । आफूहरूको पक्षमा स्पष्ट बहुमत भएकाले आयोगबाटै न्याय पाउने उनले विश्वस्त व्यक्त गरे ।

    सत्तासमीकरणमा दुई पक्षमा विभाजन जसपाको एउटा समूहको नेतृत्व अध्यक्ष यादव र अर्को पक्षको नेतृत्व अर्का अध्यक्ष महन्थ ठाकुरले गरेका छन् । ठाकुर नेतृत्वको समूह अहिले सरकारमा सहभागी छ ।

    दुवै पक्षले एकार्कालाई कारबाही गरेर पार्टीबाट निस्कासन गरेपनि निर्वाचन आयोगले मान्यता दिएको छैन । सोही कारण यादव पक्षले पुनः पार्टी आधिकारिकताका लागि निर्वाचन आयोगमा जाने निर्णय गरेको हो ।

    बैठकबारे ठाकुर पक्षलाई भने कुनै जानकारी गराइएको थिएन । अध्यक्ष ठाकुरले बुधबार विज्ञप्ति निकालेर यादव पक्षले बोलाएको बैठक अवैधानिक र अनाधिकृत रहेकाले त्यस्तो बैठकमा सहभागी नहुने जनाएका थिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस