जाजरकोटमा भैँसी, गाई र बाख्रा लिएर चरिचरन क्षेत्र जलजला पाटनमा गएर बेपत्ता भएका सात जना जीवितै भेटिएका छन् ।
मंगलबारदेखि हराइरहेका कुशे गाउँपालिका–८ र ९ औलरिजाका ३५ वर्षीय दिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीम खड्का, १७ वर्षीया धनसरा खड्का र वडा नं ९ का ४० वर्षीय कृष्ण रोकाय शुक्रबार बिहान सम्पर्कमा आएका हुन् ।
हावाहुरी, पानीसहित आएको बहुकाले उडाएर बेपत्ता भएका उनीहरूलाई प्रहरी टोली र स्थानीयवासीले उद्धार गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुकुमार थापाले बताए । सोही घटनामा परी बच्न सफल ४४ वर्षीय भक्तबहादुर रोकाय, १० वर्षीय ईश्वर रोकाय, १४ वर्षीय दुर्गा रोकाय र ५५ वर्षीया गङ्गा खड्का सम्पर्कमा आएर प्रहरीलाई खबर गरेका थिए ।
उद्धार गरिएकाहरू चार दिनदेखि खानेकुरा पानीसमेत नखाएको र चिसोले गर्दा निकै कमजोर रहेको जिल्ला प्रहरी प्रमुख थापाले बताए । उनीहरूलाई चाउचाउ, विस्कुट लगायतका खानेकुरा खुवाएर पाटनबाट तल घरतिर झार्ने काम भइरहेको थापाले बताए ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।