• आफ्नै घर बगाउने पालो कुर्दै मेलम्चीवासी

  • काठमाडौँ । मङ्गलबार दिउँसो हेलम्बु गाउँपालिका–१ को रितेकतेकमा पहिरोले खोला थुनिएर एक्कासि खुल्दा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति भएको हो ।

    रितेकतेकमा मेलम्ची खोला दुई पहाडबीचको खोँच भएर बग्ने र खोला थुनिएर फुटेकोजस्तो देखिएको हेलिकप्टरबाट अवलोकन गरेर फर्किनुभएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं त्यस क्षेत्रका सांसद शेरबहादुर तामाङले बताए ।

    “माथिल्लो क्षेत्रमा पनि जोखिम कायमै देखिन्छ, रितेकतेकमाथि पनि स–साना पहिरो गएको जस्तो देखिन्छ तर मौसम नखुलेकोले प्रस्ट देख्न सकिएन,” मन्त्री तामाङले भने ।

    बाढीका कारण हेलम्बु–१ को तिम्बु, नागोटे, हल्दे र मेलम्ची १० र ११ जोड्ने चारवटा पक्की पुल, मेलम्ची–हेलम्बु क्षेत्रका पाँचवटा झोलुङ्गे पुल र सातवटा ट्राउट माछा फार्म बगेका छन् ।

    मङ्गलबार रातिको बाढीले मेलम्ची बजारलाई बगर बनाउनुका साथै हेलम्बु क्षेत्रमा ठूलो क्षति पुगेको छ । मेलम्चीदेखि तिम्बुसम्मको सडक नदीले कटान गरेको छ । नदीले कतिपय स्थानमा दायाँबायाँ पाँच सय मिटरमाथिसम्म कटान गरेको हेलम्बु–३ का सोम ज्योतिले बताए ।

    “सडक बगाएको छ, बजारमा खोला बगिरहेको छ । तिम्बुदेखि चनौटेसम्मका दुई सयभन्दा बढी घर बगेका छन्,” उनले भने ।
    हेलम्बु क्षेत्रका तीन सयभन्दा बढी स्थानीयवासी सुरक्षित स्थान खोज्दै माथिल्लो क्षेत्रतर्फ गएका छन् । “तीन दिनदेखि कुखुराको खोर, पाहुना घर, बस्तुगोठ जे खाली छ, त्यहीँ बसिरहेका छौँ,” हेलम्बु–३ का गणेशकिरण ज्योतिले बताए । “माथि बसेर आफ्नो घर बगाएको हेर्ने पालो कुरेर बसिरहेका छौँ,” उनले भने ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस