काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी भएका ९ जना मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।
अध्यक्ष उपेन्द्र यादव पक्षको आज बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी ९ जनालाई निष्कासन गर्ने निर्णय गरेको हो ।
यसअघि यादव समूहले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई निष्कासन गर्दै निर्वाचन आयोगमा पदाधिकारी विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो । तर निर्वाचन आयोगले त्यसलाई मान्यता दिएको थिए। आजको बैठकले सरकारमा सहभागी बाँकी नेतालाई पनि निष्कासनको निर्णय गरेको हो ।
बैठकले लुम्बिनी प्रदेशका चार सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय समेत गरेको छ । मुख्यमन्त्री शंकर पोखरेललाई साथ दिँदै आएका चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
यसअघि नै उनीहरुलाई पदमुक्त गर्ने निर्णय भए पनि सर्वोच्च अदालतको आदेशबाट पुनर्बहाली भएका छन्।
पार्टीभित्रको विवादबारे जसपा पुनः निर्वाचन आयोगमा जाने भएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ अनुसार वैधानिकता दाबी गर्दै पुनः निवेदन दिने निर्णय बैठकले गरेको हो ।
यसअघि अल्पमतमा रहेका महन्थ ठाकुरले आफू पक्षका २० जनालाई कार्यकारिणी समितिमा थप गर्दै विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन्।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।