• नयाँ अन्तरिक्ष केन्द्र निर्माणका चीनले पठायो तीन अन्तरिक्ष यात्री

  • एजेन्सी। चीनले आफ्नै अन्तरिक्ष केन्द्र निर्माणका लागि तीन जना अन्तरिक्ष यात्रीसहितको शेन्झाउ–१२ रकेट प्रक्षेपण गरेको छ। तियान्हे नाम दिइएको नयाँ अन्तरिक्ष केन्द्र निर्माणमा तीन महिनासम्म यी अन्तरिक्ष यात्रीले काम गर्नेछन्।

    हाल अमेरिका र रुससँग मात्र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र छन् । जहाँ पृथ्वीबाट पठाइएका अन्तरिक्ष यात्रीहरु महिनौं बसेर अध्ययन र अनुसन्धानका कार्यहरु गर्ने गर्दछन्।

    यो चीनको सातौं मानवसहितको अन्तरिक्ष यात्रा हो। चीनले पाँच वर्षपछि मानवसहितको रकेट अन्तरिक्षमा प्रक्षेपण गरेको हो।

    चीनको अन्तरिक्ष केन्द्र (सीएमएसए) का अनुसार चीनको उत्तरपश्चिमस्थित गोबी मरुभूमिबाट चिनियाँ समयानुसार बिहान ९.२२ बजे रकेट प्रक्षेपण गरिएको हो। प्रक्षेपण गरिएको करिब ५७३ सेकेन्डपछि शेन्झाउ–२ भूउपग्रह अन्तरिक्ष केन्द्रमा प्रवेश गरेको थियो।

    सीएमएसएले भूउपग्रह र त्यहाँ यात्रारत सबै अन्तरिक्ष यात्रीको अवस्था राम्रो रहेकाले अन्तरिक्ष कार्यक्रम सफल भएको जनाएको छ।

    यसपटक अन्तरिक्ष गएका यात्रीहरुमा शेन्झाउ–६ र शेन्झाउ–१० बाट दुई पटक अन्तरिक्ष यात्रा गरिसकेका ५६ वर्षीय निई हाइसेङ, शेन्झाउ–७ अभियानमा संलग्न ५४ वर्षीय लिउ बोमिङ र पहिलो पटक अन्तरिक्ष यात्रामा निस्किएका ४५ वर्षीय टाङ होङ्बो छन्।

    उनीहरुले चीनको अन्तरिक्ष कार्यक्रममा तीन महिनासम्म बसेर नयाँ रेकर्ड कायम गर्नेछन्। यसअघि सन् २०१६ मा शेन्झाउ–११ बाट अन्तरिक्ष गएका यात्रीहरुले ३३ दिनसम्म अन्तरिक्षमा बिताएका थिए।

    यसपटक अन्तरिक्षको यात्रामा जानेहरुले यसअघिका भन्दा निकै जटिल र चुनौतीपूर्ण कार्य गर्नु पर्ने चिनियाँ अन्तरिक्ष केन्द्रका सहायक निर्देशक हाओ चुनले बताए।

    यसपटक अन्तरिक्ष यात्रीहरुले खासगरी अन्तरिक्ष केन्द्रको सञ्चालन, सरसफाई, उपकरणको परीक्षण एवं केही वैज्ञानिक अनुसन्धान गर्नेछन्। चीनले गत अप्रिल २९ मा नयाँ अन्तरिक्ष केन्द्रको मुख्य मोड्युल पठाएको थियो।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस