• मनसुनको सुरूमै १७ जिल्लामा बाढीपहिरो : ७ जनाको मृत्यु, २५ बेपत्ता

  • काठमाडाैं। कोरोना महामारीले आक्रान्त बनाएका बेला मनसुनको सुरूमै बाढीपहिरोले बिनाश निम्त्याएको छ ।

    सिन्धुपाल्चोक, मनाङ, जाजरकोटसहित १७ जिल्ला बाढी पहिरोबाट प्रभावित भएका छन्। यसै साताकाे सुरूदेखि सक्रिय भएको मनसुनका कारण देशका विभन्न जिल्लामा बाढीपहिरो आउँदा ७ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता भएका छन्।

    मनसुनको सुरूमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पुर्‍याएको छ। सिन्धुपाल्चोकमा तीन जनाको मृत्यु भएको छ भने बाजुरा, पाल्पा, डोटी र कास्कीमा एक/एक जनको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ।

    सिन्धुपाल्चोकमा मृत्यु हुनेमध्ये दुई जना चिनियाँ नागरिक छन्। एक जनाको शव सिन्धुलीमा भेटिएको जनाइएको छ। सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालकाअनुसार सिन्धुपाल्चोकका १४ जना सम्पर्कबिहीन छन्। हराएका १८ जनामध्ये चार जना सम्पर्कमा आइसकेका छन्। जाजरकोटमा विकट क्षेत्रमा ७ जना बेपत्ता भएका छन् भने बाजुरा, प्यूठान, अर्घाखाँची र काभ्रेमा एक/एक जना बेपत्ता छन्।

    सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ नाकुत्तेभन्दा ५०० मिटर माथिबाट पहिरो खसेर थुनिएको मेलम्ची नदी एक्कासी खुल्दा हेलम्बु र मेलम्चीमा ठूलो क्षति पुगेको छ। सिन्धुपाल्चोकमा ७४ जनाको उद्धार गरिएको छ।

    मेलम्ची नगरपालिकामा ६०० जना, हेलम्बु गाउँपालिकामा ३०० बढी प्रभावित भएका छन्।

    जाजरकोटमा गत जेठ ३१ गतेदेखि जिल्ला सदरमुकामबाट चार हजार ८०० मिटरको उचाईमा सात जना हराइरहेका छन्। घटनास्थलमा प्रहरी टोली पठाइएपनि विस्तृत विवरण आइसकेको छैन।

    कुसे गाउँपालिका ८ जलजला पाटनमा अविरल बर्षा र हावाहुरीले गर्दा गाइवस्तु लिन गएका ११ जना मध्ये ७ जना हराएका छन् भने चार जना सम्पर्कमा आएका छन् ।

    मनसुनपछि मुलुकका विभिन्न क्षेत्रमा वर्षापछि आएको बाढी पहिरोका कारण अहिलेसम्म १२९ घर पूर्ण क्षति भएको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएकाे छ।

    बाजुरामा दुई, गोरखामा चार, मनाङमा ५९, सिन्धुपाल्चोकमा १६, लमजुङमा १८, अर्घाखाँचीमा १२ र कास्कीमा १८ घर पूर्ण क्षति भएको छ। यस्तै ११४ घरमा आंशिक क्षति भएको जनाइएको छ।

    मनाङको चामे र तालगाउँ क्षेत्रका ५ सय बढी प्रभावितहरुलाई सिरनताललगायत अस्थायी आश्रयस्थलमा राखिएको छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस