• महोत्तरीमा सुनचाँदी पसलेलाई गोली हानी लाखौँको लुटपाट

  • महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा गएराति डाकाहरूको एक समूहले सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सम्सी–१ स्थित सम्सी–गौशाला सडकखण्डको २०० मिटर उत्तर पश्चिमपट्टि आफ्नै घरमा राजीव ज्वेलर्स (सुनचाँदी पसल) सञ्चालन गरेका स्थानीयवासी वीरेन्द्र साहको घरमा गए राति डाकाहरूको समूहले गोली र रड प्रहार गर्दै घरका सबै सदस्यलाई घाइते बनाएर लाखौँको लुटपाट गरेका छन् ।

    डाकाहरूको समूहले वीरेन्द्रले सञ्चालन गरेको पसलबाट नगद दुई लाख, पाँच तोला सुन र १७२ तोला चाँदी गरी जम्मा नौ लाख ९७ हजार लुटपाट गरी लगेको प्रहरीले जनाएको छ ।

    राति २ बजेको समयमा नौ/दश जनाको समूहमा घरको पछाडिको ढोका फोडेर आएका डाकाहरूले नलकटुवा पेस्तोलले पसले एवं घरमूली ५० वर्षीय वीरेन्द्र साहको ढाडमा गोली हानेका छन् भने निजकी पत्नी ४५ वर्षीया सुशीला देवी, छोरा २५ वर्षीय शम्भु, छोरी २० वर्षीया कञ्चनकुमारी र अर्का छोरा १७ वर्षीय राजीवलाई अनुहार र टाउकोमा रड प्रहार गरी गम्भीर घाइते बनाएर लाखौँको लुटपाट गरेको प्रनाउ विष्टले बताए ।

    घाइतेहरूलाई गए राति नै जनकपुरस्थित गोदावरी अस्पतालमा लगी उपचार भइरहेको छ । उनीहरूको अवस्था गम्भीर रहेको जनाइएको छ ।

    जिल्ला प्रहरी कार्यालय महोत्तरी र अन्य प्रहरी इकाइबाट डाकाहरु खोजतलासका लागि त्यस क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय