सरकारले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटल क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने भएको छ । वैदेशिक रोजगारबाट फर्किएका तर होटेल क्वारेन्टाइनमा बस्न नसक्नेलाई सरकारले १० दिनको खर्च दिने भएको हो ।
प्रधानमन्त्री एवं समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्ने निर्णय गरेको हो ।
बैठकले संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट निषेधाज्ञा’तर्फ जाने निर्णयसमेत गरेको छ । अबको साता जारी निषेधाज्ञा कायम राख्दै त्यसपछिको अवस्था मूल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइ केही क्षेत्र खुल्ला गरिनुपर्ने समितिको निष्कर्ष छ ।
निर्माणक्षेत्र र अत्यावश्यक उद्योग सञ्चालन गर्न दिने पनि सीसीएमसी निर्देशक समितिले निर्णय गरेको छ । त्यस्तै, सरकारले टर्की, कतार, साउदी अरेबिया, यूएई, जापान र मलेसियालगायत मुलुकमा हवाई सेवा पुन: सञ्चालन गर्ने भएको छ । यी देशहरूबाट सातामा दुई हजारभन्दा यात्रु नबढ्ने गरी हवाई उडान सञ्चालन हुने सीसीएमसी निर्देशक समिति सचिवालयले जनाएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।