काठमाडाैं। केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना मजदुर सम्पर्कविहीन भएका छन्।
सम्पर्कबिहीन हुनेमा तीन जना चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ जना रहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा उनीहरुको खोजी भइरहेको छ।
निर्माणस्थलमा रहेका ७६ जनालाई हेलिकोप्टरमार्फत उद्दार गरी काठमाडाैं र धुलिखेल ल्याइएको आयोजनाले जनाएको छ। उद्धार भएका सबैको अवस्था अहिले सामान्य छ।
आयोजनाको मुख्य सुरुङ, पानी प्रशोधन केन्द्र र मुख्य बाँधमा क्षति नपुगेको विवरण प्राप्त भएको आयोजनाले जनाएको छ। आयोजनाको क्याम्पहरु, उपकरणहरु, निर्माण सामग्री, पहुँच सडक र पुल बाढीले बगाएको छ।
मङ्गलबार साँझ झण्डै सात बजे आयोजना क्षेत्रमा बाढी पसेको थियो। अम्बाथानस्थित ‘हेडवर्क्स’ भन्दामाथि परिरहेको अबिरल वर्षाका कारण बाढी आएको थियो।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।